समाचार

निर्मला हत्याको सय दिन : कहिले तोडिन्छ पर्खाइ ?

काठमाडौँ ।  कञ्चनपुरकी १३ वर्षिया किशोरी  निर्मला पन्तको बलात्कारपछि हत्या भएको शुक्रबार सय दिन पूरा भएको छ।

हत्या भएको सय दिन पुगेपनि सरकार भने हत्यारा पत्ता लगाउन असफल भएको छ। सय दिनको अवधिमा निर्मला हत्या प्रकरणको छानविनका लागि भन्दै सरकारले सात वटा छानविन टोली गठन गरिसकेको छ।

छानविन समितिले हत्या घटनाको अनुसन्धानमा लापरवाही गरेको ठहर गरेपछि दुईजना प्रहरी अधिकारीलाई सेवाबाट हटाइएर  अन्य केही प्रहरी अधिकारीहरुलाई निलम्बन गरेपनि दोषी सम्म सरकार पुग्न सकेको छैन्। पन्त हत्या प्रकरण सय दिन वितिसक्दा पनि दोषी पत्ता लगाउने कुरा शुन्यमै रहेको छ।

तर कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले हाल सम्ममा अपराधी पत्ता नलाग्नु दु:खद भएको भन्दै अब गहन रुपमा अनुसन्धानलाई अगाडी बढाईने बताए। घटनामा संलग्न भएको आशंकामा नौँ जनाको डिएनए पनि परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगिटीभ आएको छ। अहिले पनि स्थानीयहरुको डिएनए पनि संकलन गरिएको छ।

दोषी पत्ता लगाउन नसकेको भन्दै सुरुदेखी नै सरकार विरुद्ध आन्दोलन हुदै जारी रहेको छ। पीडित परिवार र महिला अधिकारकर्मीहरुले निर्मलाका निम्ती न्याय माग्दै दवावमुलक कार्यक्रम गर्दै आएका छन्।आफूहरुको माग प्रहरीलाई बर्खास्त गर भन्ने नभई छोरीको हत्यारा पत्ता लगाई कारवाही हुनुपर्छ भन्ने रहेको निर्मलाका परिवारको भनाई छ।

दोषीलाई कारवाहीको माग गरेकोले निर्मलाको हत्यारालाई पत्ता लगाई कारबाहि नगरे सम्म सरकारले दिएको राहत पनि नलिने उनका बुबा यज्ञराज पन्तले बताए।