समाचार

महायज्ञमा रु दुई करोड ५३ लाख सङ्कलन

काठमाडौँ । स्याङ्जा हरिनास गाउँपालिकास्थित महिमा माविले प्राविधिक शिक्षासहितको बहुमुखी क्याम्पस सञ्चालनका लागि आयोजना गरेको महायज्ञमा रु दुई करोड ५३ लाख सङ्कलन भएको छ । स्थानीय मग्याम चिसापानीमा यही कात्तिक ५ गतेदेखि १५ गतेसम्म भएको महायज्ञमा विभिन्न सङ्घसंस्था तथा दाताबाट सो रकम सङ्कलन भएको हो । उक्त गाउँपालिकाले रु २१ लाख प्रदान गरेको सो महायज्ञ व्यवस्थापनका लागि करीब रु ३० लाख खर्च भएको आयोजकले जनाएको छ ।

सङ्कलित रकम उच्च शिक्षाको सुनिश्चितता गरी प्राविधिक शिक्षा सञ्चालनमा खर्च गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरनाथ लम्सालले बताए । प्राविधिक शिक्षातर्फ बालीविज्ञान विषयलाई प्राथमिकता दिइएको छ । उच्च शिक्षा अध्ययन गर्न मग्याम चिसापानीका विद्यार्थी सदरमुकाम स्याङ्जा बजार, दुलेगौँडा, पोखरा र काठमाडौँ जाने गरेका छन् । महायज्ञमा प्रमुख वाचक दिनबन्धु पोखरेलले सङ्गीतमय कथा प्रवचन गरेका थिए ।