गण्डकी प्रदेश

स्थानीय बासिन्दाले रु ९१ लाख जुटाएर विकासका पूर्वाधार निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका बासिन्दाले रु ९१ लाख जुटाएर विकासका पूर्वाधार निर्माण गरेका छन् । पोखरा, काठमाडौँलगायत देशका विभिन्न शहर, बेलायत, हङ्कङ, अमेरिकालगायतका देशमा पुगेका किन्दुका बासिन्दाको सहयोग र स्थानीयको श्रमदानमा सडक, सामुदायिक भवन, सत्तल र खेलमैदान निर्माण भएको हो । समुदायको रु ९१ लाखको लगानीमा निर्माण भएको स्वाँत–किन्दु ग्रामीण कृषि सडक, बहुद्देश्यीय खेल मैदान, सामुदायिक भवन र छिर्केश्वर मन्दिर परिसरको सत्तलको बिहीबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र सांसद विनोद केसीले उद्घाटन गरे ।

किन्दु टोल विकास समिति र सिख्तानी समाजको पहलमा आर्थिक स्रोत जुटाइएको थियो । रु ४९ लाख २३ हजार ७७५ मा ६.५ किमी सडक, रु २८ लाख ५५ हजारमा खेल मैदान, रु सात लाख ४४ हजारमा सभा हल र रु पाँच लाख ७४ हजार ७७० मा सत्तल निर्माण भएको निर्माण समितिका अध्यक्ष पदमबहादुर चोचाङले बताए।

पूर्वाधार निर्माणका लागि ८० घरधुरी किन्दुवासीले रु चार लाख २५ हजार बराबरको श्रमदान, तत्कालीन जिल्ला विकास समितिले रु एक लाख ८० हजार र अन्नपूर्ण गाउँपालिकाले रु चार लाख ३८ हजार सहयोग गरेका छन् । सडक, सभाहल, खेल मैदान र सत्तल निर्माणपछि आवतजावत, ढुवानी, तरकारी निकासी, खेल अभ्यास, प्रतियोगिता सञ्चालन, तालीम, गोष्ठी, भेला सञ्चालन गर्न सहज भएको किन्दुका ज्ञानबहादुर शेरपुञ्जाले बताए । उद्घाटन समारोहमा मन्त्री पुन, सांसद केसी र गाउँपालिकाका अध्यक्ष पुनले किन्दुवासीले राज्यको तुलनामा धेरै आर्थिक स्रोत जुटाएर विकासका पूर्वाधार तयार पारेर विकासमा जनसहभागिताको नमूना प्रस्तुत गरेको बताए ।