अन्तर्राष्ट्रिय

राष्ट्रसंघको पहलमा भएको युद्धविरामपछि विद्रोही र यमन सरकारबिच वार्ता तयारी

एडेन । यमनी सरकार द्वन्द्वरत हुथी विद्रोहीसँग शान्ति वार्ता गर्न तयार रहेको सरकारी अधिकारीले बिहीबार जनाएका छन् । बर्षौ लामो द्वन्द्व थप सशक्त भइरहेका समय द्वन्द्वरत पक्षलाई समस्याको समाधान गर्न अन्तराष्ट्रिय समुदायबाट दबाब आइरहेका समय यमन सरकारबाट उक्त भनाई आएको हो ।

संयुत्तः राष्ट्र सङ्घले पनि बुधबार यमनमा एक महिनाभित्र शान्तिवार्ता शुरू गर्न लागिएका जनाएको थियो । संयुक्त राष्ट्रसङ्घको पहलमा एक महिना पहिले पनि शान्तिवार्ता प्रयास गरिएको थियो तर विद्रोहीले वार्तामा बस्न अस्वीकार गरेपछि वार्ता सम्भव भएको थिएन । यमन रिपब्लिक शान्ति स्थापना गर्ने राष्ट्रसङ्को प्रयासलाई स्वागत गर्दछ, राज्य सञ्चालित साबा न्यूज एजेन्सीले सरकारद्वारा जारी प्रेस विज्ञप्तिलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

यमन सरकार शान्ति र अमन चयनको विश्वास सिर्जना गर्न खासगरी बन्दी र कैदीहरूलाई रिहा गर्न साथै द्वन्द्वका क्रममा अपहरण परेका र वेपत्ता पारिएका सुरक्षाकर्मी र नागरिकको खोजी गर्न तयार छ, विज्ञप्तिमा जनाइएको छ । संयुक्त राज्य अमेरिकाले यमनमा युद्धको स्थितिलाई तत्कालै अन्त्य गर्न गत हप्ता आह्वान गरेको थियो । यमनी सरकारलाई सघाउँदै आएको साउदी अरब नेतृत्वको गठबन्धनलाई अमेरिकी सहयोग रहँदै आएको छ । यमनी विद्रोहीलाई इरानको समर्थन रहने गरेको बताउने गरिन्छ ।

सेप्टेम्बरमा हुथी विद्रोहीले वार्ताका लागि जेनेभा जान संयुक्त राष्ट्रसङ्घले आफ्नो समूहको प्रतिनिधिमण्डललाई यमनी राजधानीसम्म फिर्ता पु¥याउने जिम्मा नलिएको साथै घाइते विद्रोहीलाई ओमानसम्म जाने वातावरण मिलाउन नसकेको भन्दै सुरक्षाको कारण वार्तामा सहभागिता हुन नसक्ने बताएको थियो । यस पहिले सन् २०१६ मा वर्तमान राष्ट्रपति अबेद्रेब्बो मन्सुर हाडी र विद्रोही कुबेतमा भएको १०८ दिन लामो वार्ताबाट पनि कुनै सहमति हुन सकेको थिएन ।

यमनमा भएको द्वन्द्वमा परी कम्तीमा १० हजार नागरिकको ज्यान गुमेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क रहेको छ । मानबअधिकारबादी विभिन्न समूहहरूले यमनमा सन् २०१५ मा शुरू भएको द्वन्द्वका कारण अहिलेसम्म ५० हजारको ज्यान गएको बताउने गर्छन् ।