कृषि

प्राङ्गारिक कृषि रणनीति चाँडै

काठमाडौँ । कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालले प्राङ्गारिक उत्पादनलाई प्राथमिकतामा राखेर ‘प्राङ्गारिक कृषि रणनीति’ चाँडै बनाइने बताए । नेपाल पर्माकल्चर समूहलगायत संस्थाको आयोजनामा भएको ‘प्राङ्गारिक कृषि वर्तमान अवस्था तथा भावी कार्यदिशा’ विषयको छलफलमा उनले सो रणनीति बनाउन विज्ञ सम्मिलित समिति चाँडो गठन गरिने बताए । उनले १० वर्षभित्र मुलुकका प्राङ्गारिक उत्पादन वृद्धि गर्न र अधिकांश भागमा प्राङ्गारिक उत्पादनमा कृषकलाई आकर्षित गर्न रणनीति निर्माण गरिने उल्लेख गरे ।

मन्त्री खनालले प्रत्येक गाउँपालिकामा स्थानीय घरबाट प्राप्त हुने फोहर व्यवस्थापन गरी मलका रुपमा विकास गर्ने विषय पनि रणनीतिमा केन्द्रित गर्नुपर्नेमा जोड दिए । रासायनिक मलमा अहिले ६८ प्रतिशत अनुदान कृषकलाई उपलब्ध गराइएको जनाउँदै उनले प्राङ्गारिक उत्पादन वृद्धि गर्नका लागि रु ७० करोड बजेट विनियोजन गरिएको बताए । मन्त्रालयका सचिव युवकध्वज जिसीले प्राङ्गारिक वस्तु उत्पादन वृद्धि गर्न कृषि क्षेत्रलाई यान्त्रिकीकरण गर्नुपर्नेमा जोड दिँदै कृषकलाई आवश्यक मल, बीउ, औजार तथा यान्त्रिक वस्तु खरिदमा सहुलियत उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । नेपाल पर्माकल्चर समूहका अध्यक्ष प्रेम थापा, अर्गानिक वल्र्ड एण्ड फेयर फ्युचरका अध्यक्ष उमेश लामालगायतले प्राङ्गारिक कृषिको महत्वलाई राष्ट्रिय नीतिमा उल्लेख गरी सशक्त रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।