कर्णाली प्रदेश

विदेशी पर्यटकले बनाए स्रोतकेन्द्र भवन

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ दहबाङमा विदेशी पर्यटकले एकीकृत स्रोत भवन निर्माण गरेका छन् । सूचना केन्द्र, पुस्तकालय, कृषि प्रयोगशालालगायत अन्य प्रयोजनका लागि १८ देशका पर्यटकले भवन निर्माण गरेका हुन् ।

विभिन्न देशका सय बढी विदेशीले स्वयंसेवामार्फत निर्माण गरेको तीनकोठे स्रोत भवनको एउटा कोठामा हालपुस्तकालय सञ्चालन गरिएको छ । भवन निर्माण गर्न १० लाख बराबरको रकम खर्च भएको स्रोत केन्द्रका निर्देशक हुकुमप्रसाद देवकोटाले बताए । उनका अनुसार उक्त रकम पनि विदेशी पर्यटकले नै खर्च गरेका हुन् । तर स्रोत केन्द्रअन्तर्गत खेलकूद रङ्गशाला, बालउद्यान, हरितगृह, कलाकेन्द्र, बहुउद्देश्यीय सभाहल, सूचनाप्रविधिलगायत संरचना बन्न भने बाँकी छ ।

विदेशी आकारमा निर्माण गरिएको स्रोत भवन निर्माणको सम्पूर्ण काम विदेशी पर्यटकले नै गरेको र भवनसमेत पूर्ण भूकम्पप्रतिरोधी रहेको जनाइएको छ । गाउँमा स्रोत भवन निर्माण भएपछि दहबाङसम्म सडक, बिजुली र खानेपानीसमेत पुगेको छ ।

विकासका लागि संयुक्त अभियान नेपालले गत वर्षको पुस महिनामा विदेशी पर्यटकलाई दहवाङ ल्याएको थियो । रुकुम पश्चिम, सल्यान र रोल्पाका लागि पायक पर्ने यस ठाउँबाट कृषिदेखि इन्टरनेट सेवा प्रवाह गर्ने उद्देश्यले एकीकृत स्रोत केन्द्र निर्माण गरिएको अभियानका अध्यक्ष रञ्जु भण्डारीले जानकारी दिए ।” भवन निर्माणका क्रममा हाम्रो संस्था र स्थानीयवासीले विदेशीलाई केही दिनु परेन,” भण्डारीले भने । भवनको काम सकिएपछि यसको थप मर्मत र विकासका लागि उक्त स्रोत भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको उनले बताए ।

गाउँपालिकाले भने स्रोत भवन आफ्नो मातहतमा आइसकेकाले उक्त भवनमा तत्काल युवा तथा खेलकूद शाखा राख्ने निर्णय गरेको छ । त्यसका लागि गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत तेजकुमार ओलीले बताए । पर्यटकीय महत्व बोकेको यस ठाउँबाट धौलागिरि, सिस्नेलगायत उच्च हिमाली शृङ्खलाहरु देख्न सकिन्छ ।