स्वास्थ्य

स्वास्थ्यचौकी बन्द हुँदा बिरामी मर्कामा

हुम्ला । सिमकोट गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा कार्यलय बन्द भएको छ । ठेहे स्वास्थ्य चौकीमा दशैँ अगाडिदेखि नै कर्मचारी नहुँदा उक्त गाविसका वडा नं १ देखि ६ सम्मका बासिन्दालाई समस्या भएको स्थानीयवासी नवराज भण्डारीले बताए ।

ज्वरो, रुघाखोकी, टाउको खुख्नेजस्ता सामान्य बिरामीका लागि जाँच्ने र औषधिसमेत दिने कर्मचारीसम्म पनि नहुँदा बिरामी मर्कामा परेका हुन् । गाउँ नजिकै रहेको स्वास्थ्यचौकी पुग्दा त्यहाँ त सिटामोल दिने मान्छेसमेत नभएको ठेहे निवासी सुरेश परियारको गुनासो थियो । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा बिरामी रित्तो हात फर्कन बाध्य भएको उनले बताए।

स्वास्थ्यचौकीमा ११ स्वास्थ्यकर्मीको दरबन्दी रहे पनि अहिले एक जना कार्यलय सहयोगी मात्र रहेको बताइएको छ । एघार स्वास्थ्यकर्मीमध्ये एक एचए, दुई अहेव, दुई अनमी र दुई कार्यलय सहयोगीसहित सातजना रहनुपर्र्ने ठाउँमा कार्यलय सहयोगी दन्त बोहरा मात्र रहेको स्थानीयवासीले बताए । बिरामी उपचारका लागि आउने तर स्वास्थ्यचौकीमा न औषधि पाइन्छ न त स्वास्थ्यकर्मी नै भेटिन्छ अर्का स्थानीयवासी हीराकला परियारको गुनासो थियो ।

स्वास्थ्यकर्मीको अभावमा गर्भवती महिलालाई झन् समस्या भएको ठेहेका नवराज भण्डारीले बताए । आफ्नी श्रीमती गर्भवती भएकीले सामान्य जाँचका लागि पनि यहाँ स्वास्थ्यकर्मी नहुँदा जिल्ला अस्पताल नै धाउनु परेको छ उनले भने । आइरन चक्कीलगायत अन्य अति आवश्यक औषधि भए पनि औषधि दिने कर्मचारी पनि छैनन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयमा औषधि र कर्मचारीको अभावबारे बुझ्दा ११ मध्ये सात कर्मचारी हुनुपर्ने जिल्ला अस्पतालका अनमी सरिता बोहराले बताए । अहिले बिरामीले तीन घण्टा पैदलयात्रा गरेर जिल्ला अस्पताल हुम्लामा आउनुपर्ने बाध्यता छ । सिमकोट गाउँपालिकालाई उक्त स्वास्थ्य चौकीमा कर्मचारी कति छन्/छैनन् भन्ने जानकारीसमेत छैन । ठेहेमा करीब ५०० घरधुरी छन् । दैनिकजसो सामान्य बिरामीले स्वास्थ्यकर्मीको अभाबमा जल्ला अस्पताल धाउनुपर्ने बाध्यता छ ।