पत्रपत्रिका

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशकी पत्नी पक्राउ

उदयपुर । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउतकी पत्नी ललिता पक्राउ परेकी छन् ।

न्यायाधीश पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरेको आरोपमा ललिता र उनका दाजुभाउजूलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएको हो ।  ललिताले पतिको हस्ताक्षर र औंठाछाप किर्ते गरी अर्काको बच्चालाई आफ्नो बनाई जन्मदर्ता गराएको भन्दै न्यायाधीश राउतका पिता बलबहादुरले उजुरी दिएका थिए । सोमबारै पक्राउ गरिए पनि अदालतबाट म्याद लिएपछि बुधबार मात्रै घटना सार्वजनिक भएको हो ।

पक्राउ पर्नेमा ललिताका दाजुहरू बाबुराम चौहान र शिवशंकर चौहान तथा भाउजू बुनु चौहान पनि छन् । अर्की भाउजू भोजकुमारी फरार छिन् । उनीहरू चारै जनाको मिलेमतोमा कटारी–३ बाट गत असोजमा बाबु प्रकाशमानसिंह, आमा ललिताकुमारी र बाजे बलबहादुर राउत उल्लेख गरी नवजात शिशुको जन्मदर्ता बनाएको आरोप छ ।  कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।