बाग्मती

ज्येष्ठ नागरिकलाई सम्मान

भक्तपुर । सूर्यविनायक नगरपालिका– १ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४९ जना स्थानीय ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको आज सम्पन्न १७ औँं स्थापना दिवस एवं ज्येष्ठ सदस्य सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सूर्यविनायक नगरपालिकका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र संस्थाका अध्यक्ष उद्धवप्रसाद चौलागार्इंले संयुक्तरुपमा दोसल्ला ओढाइ नगदसहित सम्मान पत्रद्वारा उनीहरुलाई सम्मान गरे ।

सो अवसरमा प्रमुख थापाले सूर्यविनायक नगरपालिकालाई सहकारीमैत्री नगरपालिका बनाउने बताउँदै “सहकारी ऐन जारी गर्ने नेपालको पहिलो स्थानीय सरकार भएको हुँदा सूर्यविनायक नगरपालिकालाई सहकारी मैत्री नगरपालिका बनाउने भने ।” नगरपालिकाले सहकारी क्षेत्रको विकासका लागि वार्षिक रु २० लाख बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले सहकारीलाई सामुदायिकस्तरमा सेवामुखी संस्थाको रुपमा लैजाने धारणा व्यक्त गरे ।

नगरपालिकाका उपप्रमुख जुना बस्नेतले महिलाको सीप विकासदेखि आयआर्जनसम्ममा टेवा पु¥याउँदै आएको सहकारी संस्था आर्थिक विकासको मेरुदण्ड भएको चर्चा गरे । नेफ्स्कुनका शिव अधिकारी, जिल्ला बचत सङ्घ भक्तपुरका अध्यक्ष कृष्ण गोविन्द लाखाजु, जिल्ला सहकारी सङ्घका अध्यक्ष महेश श्रेष्ठले नयाँ सहकारी ऐन कार्यान्वयनमा चुनौती रहेको चर्चा गर्दै सहकारीको विकासमा सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

सूर्यविनायक नगरपालिका–१ का वडा अध्यक्ष सानुकाजी कायस्थ, वडा नं– ४ का वडा अध्यक्ष उत्तम थापा, ७ का वडा अध्यक्ष रवीन्द्र सापकोटा, राष्ट्रिय सहकारी बैंक ठिमीका सरोज सापकोटा, ऋद्धिसिद्धि सहकारीका अध्यक्ष धु्रव विष्ट, दक्षिण बाराही महिला सहकारीका अध्यक्ष निर्जला दाहाल, जय गणपति सहकारीका अध्यक्ष रमण कायस्थ, अमरज्योति साकोसका अध्यक्ष दामोदर न्यौपाने लगायतले सहकारीको महत्वमाथि प्रकाश पारे ।

चमेली साकोसका अध्यक्ष चौलागार्इंले ३४ जनाबाट रु तीन हजार ४०० सङ्कलन गरेर स्थापना भएको चमेली सहकारी १७ वर्षसम्म पुग्दा रु ३७ करोडको कारोबार गर्न सफल भएको चर्चा गर्दै सरदस्यको आर्थिक विकाससँगै सामाजिक सेवामा संस्थाले टेवा पु¥याउँदै आएको जानकारी दिए ।