गण्डकी प्रदेश

तुरतुरेमा बनेको कृत्रिम तालमा आकर्षण

बागलुङ । पहिरोले बडिगाड खोला थुनेपछि तुरतुरेमा बनेको कृत्रिम ताल अवलोकन गर्ने बढेका छन् । हिउँदको सफा मौसममा तालको सौन्दर्य खुलेपछि अवलोकनकर्ता आकर्षित भएका हुन् । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सीमामा गएको भीमकाय पहिरोले करीब एक किमीक्षेत्रमा ताल बनेको छ ।

खोला नै थुन्ने गरी गएको पहिरोले पनि जनसाधारणमा कौतुहलता जगाएको हो । गत भदौ ३० गते अचानक खसेको पहिरोले बडिगाड खोला ६ घण्टासम्म थुनेको थियो । तत्काल ताल फुटाउँदा जोखिम निम्तने खतरा भएपछि ताल उस्तै स्वरुपमा राखिएको छ । अहिले ताल प्राकृतिक झैँ सुन्दर देखिन्छ । एकदम कञ्चन, अनि निलो । ताल पचास मिटरसम्म गहिरो भएको अनुमान गरिएको छ । बागलुङ, छिमेकी जिल्ला गुल्मी लगायतका ठाउँबाट दैनिक सयौँं अवलोकनकर्ता तुरतुरेमा पुग्ने गरेका छन् । दशैं बिदामा कलाकार दुर्गेश थापा साथी लिएर तुरेतुरेको ताल हेर्न गए । ‘सबैतिर चर्चा भएकाले हेर्ने उत्सुकता बढ्यो’ थापाले भने ।

लोकमार्गकै छेउँमा बनेको तालले यात्रुलाई पनि लोभ्याएको त्यहाँ पुग्नेहरु बताउँछन् । सवारी साधन रोकेर ताल, पहिरो अवलोकन गर्ने र तस्वीर नलिनै कमै भेटिन्छन् । सदरमुकाम बस्ने विश्व श्रेष्ठ दशैंपछि ताल हेर्नकै लागि परिवारसहित तुरतुरे पुगे । ‘डरलाग्दो पहिरो खसेको रहेछ,’ श्रेष्ठले भने, “भाग्यवश ठूलो क्षति भएन, तालको उचित व्यवस्थापन गर्नुपर्छ ।”

तुरतुरे सदरमुकामदेखि ९० किमिको दुरीमा छ । बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले ताल राख्ने कि नराख्ने भन्ने विषय छलफलकै क्रममा रहेको बताए । “बडिगाड र ढोरपाटनका स्थानीय निकायबीच बैठक बस्दैछ, कसरी अघि बढ्ने विषय टुङ्गो लाग्छ,” उनले भने । जोखिम नहुने अवस्थामा ताल जोगाउने धारणा दुबै स्थानीय तहले बनाएका छन् । यसअघि नेपाली सेनाको प्राविधिक टोलीले तत्काललाई जोखिम टरेको भन्दै ताल नफुटाई फर्केको थियो ।

‘ताल फुटाउनै परे पनि चैत÷वैशाखतिर फुटाउने प्राविधिक टोलीको सुझाव छ,’ अध्यक्ष पाइजाले भने, “भरसक ताल संरक्षण गर्ने प्रयत्नमा हामी छौं ।” ताल जोगाउन सके पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सम्भावना छ । तर, वर्षामा आउने बाढीले ताल फुटाउने हो कि भन्ने त्रास तल्लो तटीय क्षेत्रका बासिन्दामा छ । गत वर्षामा खोला थुनिँदा छिमेकी जिल्ला गुल्मी सम्मका दर्जनौबस्ती जोखिममा परेका थिए ।

ताल पहिरो गएको ठाउँ तुरेतरेदेखि, सिमलचौरहुँदै ढोरपाटन नगरपालिकाको खल्टुबोटसम्म पुगेको छ । तालले सिमलचौरका केही घरगोठ र खेत डुबानमा पारेको छ । पहिरो खसेकै ठाउँबाट पैदल हिँड्ने क्रममा ढुङ्गाले च्यापिएर अर्घाखाँचीकी ३५ वर्षीया बिबिरन खातुनको ज्यान समेत गएको थियो ।