बाग्मती

आठ हजार सवारी साधन नियम उलङ्घन गरेबापत कारवाहीमा

काभे्रपलाञ्चोक । काभे्रपलाञ्चोकमा सञ्चालितमध्ये आठ हजार ५५० सवारी साधन नियम उलङ्घन गरेबापत चालू आर्थिक वर्षको पहिलो तीन महीनामा कारवाहीमा परेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाका प्रमुख निशेष चापागाईका अनुसार सवारी नियम उल्लङ्घन गरेबापत विभिन्न सवारी साधनलाई कारवाही गर्दा बितेको तीन महीनाको अवधिमा रु ५० लाख ५४ हजार राजश्व सङ्कलन भएको बताए । उनले भने, “यो राजश्व अघिल्लो आवको पहिलो तीन महीनाभन्दा झण्डै दोब्बर हो ।” ट्राफिक प्रहरी कार्यालयले गत साउन महीनामा दुई हजार २०० सवारीलाई कारवाहीबाट रु १३ लाख दुई हजार, भदौ महीनामा चार हजार ५० वटा सवारी कारवाहीबाट रु २४ लाख ६८ हजार ५०० र असोज महीनामा दुई हजार १०० सवारी कारवाहीबाट रु १२ लाख ८३ हजार ५०० राजश्व सङ्कलन गरेको हो ।

गत वर्षको तुलनामा अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोक जिल्ला हुँदै मध्य पहाडी जिल्ला तथा बिपी राजमार्गबाट पूर्व जाने सवारी चाप बढेसँगै सवारी नियम उलङ्घन गर्ने सवारीको सङ्ख्या बढेको र राजश्वसमेत वृद्धि भएको प्रमुख चापागाईले बताए ।