प्रदेश 1

सुन्तला, तेजपात उत्पादन क्षेत्र निर्माण अभियान शुरु

गाईघाट । ग्रामीण भेगका जनताको आधुनिक कृषि क्षेत्रबाट दिगो आर्थिक विकास गर्दै स्वरोजगार र आम्दानी बढाउनका लागि उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको रौताक्षेत्रका विभिन्न वडालाई सुन्तला र तेजपात उत्पादन पाकेट क्षेत्रको रुपमा विकास गरिने अभियान शुरु भएको छ । रौता वडा नं –२ आँपटार, र पोखरेमा मात्र व्यावसायिक सुन्तलाखेती र रौता– १ को मुर्कुची तथा– ४ वडाको नामेटार, बोलुङ्खा,मलवासे क्षेत्रमा मात्र अहिलेसम्म व्यावसायिक रुपमा तेजपात खेती हुँदै आएको छ ।

अब यो खेती अन्य वडामासमेत विस्तार गरेर रौता गाउँपालिकालाई नै जिल्लाको पहिलो सुन्तला र तेजपात उत्पादन पाकेटक्षेत्र निर्माणको अभियान शुरु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेद्र खड्काले बताए। अहिले रौता गाउँपालिकाको पहलमा रौताको विभिन्न क्षेत्र नामेटार, माझखर्क, रामेटार, पाँबु, मुर्कची, पुवारे, डुम्रिबोटे, नामन्त, कोप्चे लगायतका गाउँ क्षेत्रमा समेत व्यावसायिक रुपमा सुन्तला र तेजपात खेती विस्तारको अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष खड्का बताउँछन् ।

यो अभियानका लागि गाउँपालिकाको पहलमा कृषकलाई तालीम,बीउ बिजन र बिरुवा निःशुल्क उपलब्ध गराउने र बिरुवा ढुवानी खर्च प्राविधिक खर्च समेत गाउँपालिकाकै पहलमा यवस्थापन गरेर चार महीनादेखि यो अभियान शुरु गरिएको अध्यक्ष खड्काले बताए । रौता– ३ पाँबुका कृषक होमबहादुर मगर भन्छन्,“गाउँपालिकाको पहलमा सुन्तलाखेती सम्बन्धी गाउँका दशजना कृषकले एकदिने तालीम प्रशिक्षण समेत लियौं, सुन्तलाको बिरुवा र ढुवानीसमेत गाउँपालिकाले नै व्यवस्था गरेपछि यस सिजनदेखि आफूले आफ्ना जग्गामा १४० बोट सुन्तला रोपेर पहिलो पटक खेती शुरु गरेको छु ।”

यस्तै गाउँपालिकाको पहलमा आँपटार क्षेत्रका कृषकले तेजपात खेतीलाई अझ विस्तार गर्दै लगेको आँपटार–२ का कुशबहादुर राईले बताए । जिल्लाको मध्य पहाडी क्षेत्रमा अवस्थित रौतामाई गाउँपालिकाको नवैं वडामा नै सुन्तला र तेजपात उत्पादन गर्न र विस्तार गर्न अहिले गाउँपालिकाको गुरुयोजना अनुसारनै कृषकमा गएर उत्प्रेरणा गर्दै आर्थिक, प्राविधिक सहयोग गरेर यो अभियान सञ्चालन गरेको गाउँपालिकाका कार्यकारी अधिकृत खम्बराज राईले बताए ।

उदयपुर जिल्लामा सबैभन्दा बढी तेजपात उत्पादन हुने क्षेत्र रौता क्षेत्र नै हो । अहिले रौताको मुर्कूृची,नामेटार र माझखर्क क्षेत्रबाट मात्र वार्षिक रु दुई करोड बराबरको तेजपात बिक्री हुने गरेको रौताका विज्ञ भरत थापा बताउँछन् । यहाँ उत्पादन हुने तेजपात जिल्लाको सदरमुकाम गाईघाट भएर सिधैँ विराटनगर भन्सार हुँदै भारतको पश्चिम बङ्गालतर्फ पैठारी हुने गरेको थापा बताउँछन् । यस्तै रौताको आँपटार, बोलुङ्खा, पोखरी क्षेत्रमा उत्पादन हुने सुन्तला जिल्लाको सदरमुकाम गाईघाट हुँदै सप्तरी, सिरहा, विराटनगर तर्फ पैठारी हुने गरेको छ ।

हावापानी र भौगौलिक दृष्टिले पनि जिल्लाको रौताक्षेत्र सुन्तला र तेजपात उत्पादनको सबैभन्दा राम्रो सम्भावना बोकेको स्थान हुनाले यी वस्तुबाट रौताका जनताको आर्थिक जीवनस्तर छिटो उठ्नसक्ने भएपछि अहिले गाउँपालिकाले यो अभियान शुरु गरेको गाउँपालिकाका अध्यक्ष खड्का बताउँछन् ।