शिक्षा

दुर्गम विद्यालयका सहारा बन्दै ‘टिच फर नेपाल’

काठमाडौँ । शैक्षिक अवस्था सुधारको अभियानमा जुटेका ‘टिच फर नेपाल’ दुर्गमका सामुदायिक विद्यालयको सहारा बन्दै आएको छ । शैक्षिक सुधारका लागि सिकाइ पद्धतिमा नै परिवर्तन ल्याउनुपर्ने आवश्यकता महसुस गरी शुरु भएको ‘टिच फर नेपाल’ अभियान अहिले सिन्धुपाल्चोक, धनुषा र ललितपुरका सामुदायिक विद्यालयमा लागू भएको छ । यो अभियान लागू भएका विद्यालयमा मुख्य विषयको नतिजामा सुधार आएको देखिएको छ ।

अभियानअन्तर्गत संस्थाले सिन्धुपाल्चोक, धनुषा र ललितपुरका विभिन्न दुर्गम स्थानका विद्यालयमा कमजोर नजिता आउने गणित, विज्ञान र अङ्ग्रेजी विषय निःशुल्क रुपमा पढाउँदै आएको छ । शिक्षाको अवस्था सन्तोषजनक नभएका विभिन्न ग्रामीण भेगका सामुदायिक विद्यालयमा कम्तीमा पनि स्नातक तह उत्तीर्ण युवालाई स्वयंसेवकका रुपमा पठाउने र त्यसले पारेको प्रभावको अनुगमन गर्ने गरेको संस्थाले जनाएको छ ।

हालसम्म ८६ जना स्वयंसेवक शिक्षकमार्फत संस्थाले तीन जिल्लाका सात हजार विद्यार्थीलाई अध्यापन गराइरहेको छ । सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ स्थित इन्द्रश्वरी उच्च माविका प्राचार्य राधाकृष्ण श्रेष्ठले संस्थाले शिक्षणमा प्रयोग गरिएको नयाँ विधि र विद्यालय समयअघि र पछि लिइने अतिरिक्त कक्षाको प्रभावले विद्यालयको नतिजा सुधार हुँदै आएको बताए।

“शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न सङ्घ संस्थासँगको सहकार्य र समन्वयमा विद्यालयले कक्षाकोठाका अतिरिक्त अन्य परियोजना सञ्चालन गरिरहेको छ, यस कार्यले कक्षाकोठामा मात्र नभई समुदाय र अभिभावकमा समेत सकारात्मक सन्देश प्रवाह भएको छ”, उनले भने । प्राचार्य श्रेष्ठले भने, “ शिक्षणमा प्रयोग गरिएको नयाँ विधिले कक्षामा निकै कम सक्रिय, पढाइमा कमजोर, बोल्न लजाउने विद्यार्थीका लागि अत्यन्त उपयोगी भएको पाइएको छ ।”

ललितपुरका स्रोत व्यक्ति ढकबहादुर कार्कीले स्वयंसेवक शिक्षकको पढाइमा पास र फेलभन्दा पनि विद्यार्थीलाई कस्तो महसुस भइरहेको छ, त्यो बुझ्न खोज्छन् भन्दै यसले विद्यार्थी र शिक्षकबीच वास्तविक अर्थपूर्ण सम्बन्ध कायम हुन्छ र विद्यार्थीलाई बुझ्न सजिलो हुने बताए । “अहिले प्रशिक्षार्थीले माध्यमिक तहमा राम्रो काम गरिरहेका छन्, यदि प्राथमिक तहमा पनि यसैगरी पढाउन लगाउने हो भने शैक्षिकस्तर अझै माथि उकासिन्थ्यो”, उनले भने ।

शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा ‘टिच फर नेपाल’ अभियान २०७० साल वैशाखदेखि सञ्चालनमा छ । यस अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट कम्तीमा स्नातक सकेका तथा सामाजिक परिवर्तनमा सामेल हुन प्रतिबद्ध अब्बल युवालाई छनोट गरी छ हप्ताको तयारी तालीमपश्चात् स्वयंसेवी शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । यी युवाले अङ्ग्रेजी, गणित र विज्ञान विषयमा अध्यापन गर्दै आएका छन् ।

टिच फर नेपाल शैक्षिकरुपमा अब्बल नेतृत्वदायी भूमिकामा काम गरिरहेका र सामाजिक परिवर्तनप्रति दृढ इच्छाशक्ति भएको युवाको अभियान हो । यस अभियानअन्तर्गत उनीहरु दुई वर्ष कक्षाकोठामा प्रत्यक्षरुपमा काम गरेर दीर्घकालीन रुपमा संरचनागत परिवर्तन हुने विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा हुनेछन् ।

टिच फर नेपालका प्रशिक्षार्थीले कक्षाकोठामा पढाउनुका अलावा प्रशस्त अतिरिक्त क्रियाकलाप गराउने गर्दछ । पछिल्लो चार वर्षको अनुभव उत्कृष्ट र प्रतिबद्ध युवाको जमातले दुई वर्षको अवधिमा पनि विद्यालय र समुदायमा आशा लाग्दा परिवर्तन गर्न सकिन्छ भन्ने देखिएको टिच फर नेपालका कार्यकारी अधिकृत शिशिर खनालले बताए ।

बैंकर अनिलकेशरी शाह, नेपाली काङ्ग्रेसका युवा नेता गगन थापा, डा केदारभक्त माथेमा, सञ्चारकर्मी किरण नेपाल, डा मनप्रसाद वाग्ले, रामेश्वर खनाल, व्यवसायी शेखर गोल्छालगायतले यो अभियानको शुरुआत २०७० सालमा गरेका थिए ।