कर्णाली प्रदेश

आगलागी पीडितलाई राहत

जुम्ला । चन्दननाथ नगरपालिका–२ का आगलागी पीडित कर्णबहादुर कुमाईंलाई राहत रकम हस्तान्तरण गरिएको छ । नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले उनलाई राहत रकमस्वरुप मङ्गलबार रु तीन लाख ५० हजारको चेक हस्तान्तरण गरे ।

गत साउन ९ गते राति कुमाईंको घरमा आगलागी हुँदा उनका तीन वर्षीया छोरीको मुत्यु भएको थियो । जिल्ला प्रशासनको राहत उद्धार कोषबाट मृतकको परिवारलाई गत साउन १० गते रु एक लाख १५ हजार राहत प्रदान गरेको थियो ।

घरभित्र बालिका छ भन्ने थाहा हुँदा पूरै जलिसकेको बताइएको छ । आगो निभाउन पानीको स्रोत नभएकाले उद्धार गर्न नपाउँदा बालिकाको जलेर मृत्यु भएको हो । घर जलेपछि अन्न, लत्ताकपडा सबै जलेर नष्ट भएको थियो । प्रहरी घटनाको मुचुल्कामा झण्डै रु २३ लाख बराबरको क्षति भएको जनाइएको थियो ।