प्रदेश 1

उपचार खर्च तिर्न नसक्दा आमाछोरी अस्पतालमै बन्धक

मोरङ । परिवारको बेवास्ताले सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाका आमाछोरी विराटनगरस्थित आरके चिल्ड्रेन अस्पतालमा बिचल्लीमा परेका छन् । हनुमाननगर कंकालनी ५ की ५५ वर्षीया सीतादेवी मण्डल र उनकी २५ वर्षीया छोरी रेणुदेवी खड्गा बिचल्लीमा परेका हुन् ।

रेणुदेवीकी ३ महिनाकी छोरी निशाकुमारीको आइतबार अपरान्हनै उपचारक्रममा मृत्यु भएको थियो । अस्पतालमा रेणुदेवीको परिवारजनले उपचार खर्च तिर्न नसक्दा उनीहरु तीन दिनदेखि अस्पताल परिसरमै बस्न बाध्य छन् । अस्पतालले उनीहरुलाई बच्चाको शव दिएको छैन । उनीहरुलाई पनि बाहिर निस्कन दिएको छैन ।

सुकुम्बासी परिवारका सीतादेवीले अस्पताललाई उपचार खर्चबापतको बाँकी रहेको एक लाख १६ हजार बुझाउन नसक्दा अस्पताल बाहिर जानसमेत नदिइएको बताइन् । रेणुका पति रबिशंकर खड्गा वैदेशिक रोजगारीमा मलेसियामा छन् । सीतादेवीले भनिन्, ‘रेणुका ससुरा भिखो खड्गा र उनकी सासु बच्चालाई अस्पतालमा हेर्न आउँदा दुई दिन बसेर गएदेखि फर्केर आएनन् ।’

माइतमा बसेको बेला रेणुकी छोरी निशालाई रुघाखोकी लागेपछि स्थानीय स्वास्थ्यकर्मी कहाँ उपचार गराइएको थियो । निको नभएपछि स्वास्थ्यकर्मीले राम्रो अस्पतालमा निसालाई उपचारको लागि लग्न दिएको सल्लाहअनुसार आमाछोरीले कोशी अञ्चल अस्पतालमा असोज ३१ ग्ते भर्ना गराइन् ।

‘कोसी अञ्चल अस्पतालमा उपचारपछि चिकित्सकले बच्चालाई भेण्टिलेटरमा राख्नु पर्ने अवस्था रहेको र यहाँ त्यो नभएको भन्दै रेफर गरिदिए,’ सीतादेवीले भनिन्, ‘त्यसपछि आरके चिल्ड्रेन अस्पतालमा भर्ना गरायौ ।’ आफूहरुसँग भएकोमध्ये ६० हजार अस्पतालमा र २० हजार रुपैयाँ औषधिको तिरेको तर अस्पतालले अझै १ लाख १६ हजार तिर्नुपर्ने भन्दै आएको सीतादेवीले सुनाइन् । ‘अस्पतालले माग गरेको थप एक लाख १६ हजार रुपैयाँ तिर्न सक्ने अवस्था हाम्रो छैन’ उनले भनिन् ।

खाना खानसमेत सेक्युरिटी गार्डले बाहिर जान नदिएपछि छोरी रेणुलाई अस्पतालमा बसाएर आफूले जबर्जस्ती बजार गएर खाना ल्याएर खाने गरेको उनले बताइन् ।

अस्पताल प्रशासक धिरज मैनालीले १० दिन भेण्टिलेटरमा राखेर बच्चाको उपचारपछि सुधार देखिएपछि बाहिर निकालेको र पून: भेण्टिलेटरमा राख्नुपर्ने अवस्था आएपछि परिवारजनले नराख्न भनेको बताए । भेण्टिलेरमा नराखेपछि ५/७ घण्टामा बच्चाको मृत्यु भएको उनले दाबी गरे । ‘बच्चाको कूल उपचार खर्च १ लाख ७० हजार भएकोमध्ये हालसम्ममा उनीहरुले ५० हजार मात्रै बुझाएका छन्,’ उनले भने, ‘अस्पताल निजी संस्था भएको र बिरामीको मृत्यु भएपछि अधिकांशले गरिबी देखाएर पैसा तिर्न नचाहेको अवस्थामा संस्था चलाउन गाह्रो भइसकेको छ ।’

मृतक बच्चाको हजुरबुवा भिखो खड्गाविरुद्ध प्रहरीमा उजुरी दिएर उपचारमा लागेको खर्च असुलउपर गर्नुपर्ने अवस्था आएको उनले बताए ।