पु.समाचार

भारतको गंगा नदीमा पानीजहाज संञ्चालनमा, नेपाललार्इ बंगालको खाडीसँग जोडिन सहज

काठमाडौँ । नेपालले हिन्द महासागरसम्म पुग्न जलमार्गको रुपमा प्रयोग गर्ने तयारी गरेको भारतको गंगा नदीमा मंगलबारदेखि कार्गो पानीजहाज सञ्चालनमा आएको छ।

भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणको पानीजहाज पेप्सी इन्डियाका १६ कन्टेनर सामाग्री बोकेर कोलकोताबाट उत्तर प्रदेशको वाराणसीका लागि छुटेको हो। एक कन्टेनरमा एक ट्रक सामाग्री हुन्छ। यसमा पेय पदार्थ र खाद्यन्न रहेका छन्। भारतको सिपिङ मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा भारत स्वतन्त्र भएपछि पहिलो पटक नदीमा पानीजहाजको माध्यबाट सामान ओरासपोरास शुरु गरेको जनाएको छ।

एमभी आरएन टेगोर नामको सो पानीजहाजले पश्चिम बंगालको कोलकोताबाट उत्तर प्रदेश वारणसीसम्म पुग्न ९ वा १० दिन लगाउनेछ। सो पानीजहाज फर्किंदा भने इलाहावाद नजिकै फुलपुरबाट इन्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभ लिमिटेड (आइएफएफसिओ) को मल बोकेर फर्किनेछ।

भारत सरकारको जलमार्ग विकास परियोजना अन्तगर्त एक नम्बरका राष्ट्रिय जलमार्गमा गंगा नदी पर्छ। विश्व बैंकको आर्थिक तथा प्राविधिक सहयोगमा भारतले हल्दियादेखि वारणसीसम्मका १ हजार ३९० किलोमिटरमा जलमार्गका निर्माणका लागि ५३ अर्ब ६९ करोड भारतीय रुपैया खर्च गरिरहको छ।

पानीजहाजबाट कार्गो ओसारपोसार गर्दा लागत कम लाग्ने, सहज र क्षति कम हुने भारतीय सिपिङ मन्त्रालयको दाबी छ। सो मन्त्रालयले प्राविधिक र वातावरणीय दुवै रुपमा गंगा जलमार्ग उपयुक्त रहेको जनाएको छ।

नेपालले पनि भारतसँग जलमार्ग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले चैत महिनामा गरेको भारत भ्रमणको क्रममा जलमार्ग प्रयोग सम्बन्धी समझदारीपत्रका हस्ताक्षर गरेका थिए। नेपालले कोशी र नारायणी नदीको प्रयोग गर्ने गरी काम अघि बढाएको छ। दुवै नदीहरु गंगामा गएर मिसिन्छन्।

गत महिना मात्रै नेपाली अधिकारीहरुले वाराणसीदेखि कोलकोताको भ्रमण गरेर जलमार्गको अवस्थामा बारेमा जानकारी लिएका थिए।