अन्तर्राष्ट्रिय

हजारौं अमेरिकी सेना दक्षिणी सीमातर्फ प्रस्थान

वासिङ्टन । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले अमेरिका–मेक्सिको सीमामा सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न थप पाँच हजार २०० सेना परिचालन गर्न लागेको जनाएको छ । रक्षा मन्त्रालयका अधिकारीहरुले मेक्सिको हुँदै अमेरिका प्रवेश गर्नेक्रममा रहेका अवैध आप्रवासीको लस्कर (क्याराभान) लाई रोक्न यस्तो कदम चालेको बताएका छन् । यो कदमले सीमामा ठूलो संख्यामा सेना तैनाथ हुनेछन् । यसअघि नै सीमामा दुई हजार नेसनल गार्ड खटिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीलाई रोक्न मेक्सिकोसँगको सीमामा थप सुरक्षा बल परिचालन गर्नुपर्ने परिस्थिति आएको पटकपटक बताउँदै आएका छन् । उनले अवैध आप्रवासी रोक्नेतर्फ अमेरिकी डेमोक्राट्स पार्टीले कुनै पहल नगरेको भन्दै दिनहुँ आलोचना गरिरहेका छन् । अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकएलिनानले अमेरिकी अधिकारीहरुले दक्षिणी मेक्सिकोको चियापास क्षेत्र हुँदै करिब तीन हजार ५०० मानिस अमेरिकी सीमातर्फ अघि बढिरहेको बताए ।

यसबाहेक, ग्वाटेमाला र मेक्सिको सीमामा अरु करिब तीन हजार मानिस अमेरिकातर्फ प्रस्थान गर्नेगरी समूह बनाएको पनि अधिकारीहरुले बताएका छन् । म्याकएलिनानले अमेरिका–मेक्सिको सीमा क्षेत्रको पछिल्लो परिस्थितिलाई सीमा सुरक्षा तथा मानवीय सङ्कटका रुपमा हेर्न सकिने बताए । सीमा सुरक्षा एजेन्टहरुले तीन सातादेखि दिनहुँ एक हजार ९०० जना अवैध आप्रवासीलाई पक्राउ गरिरहेको पनि उनले जानकारी दिए ।

सीमामा पक्राउ परेका आधाभन्दा बढी मानिस परिवारसँगै आएका तर उनीहरुले तस्करलाई प्रति व्यक्ति सात हजार अमेरिकी डलरसम्म बुझाएको म्याकअलिननले बताए । पेन्टागनका अनुसार सीमा क्षेत्रमा खटाइने सुरक्षा फौजसँग हातहतियार, हेलिकप्टर, उच्च प्रविधि जडान गरिएका बिमान रहनेछन् । यो टोलीले सीमा सुरक्षा बललाई मद्दत गर्नेछ ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अमेरिकी सीमा नाकातर्फ बढिरहेको आप्रवासीको लश्करमा आपराधिक समूहका सदस्य मिसिएको बताए। उनले आप्रवासीलाई कुनै पनि हालतमा अमेरिका प्रवेश गर्न नदिइने बताउँदै समयमै उपयुक्त निर्णय गर्न र आफ्नै देश फर्कन आग्रह गरे ।