गण्डकी प्रदेश

अख्तियार दुरुपयोगविरुद्ध उजूरी कास्कीमा बढी

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तीन महीनामा अख्तियार दुरुपयोगविरुद्ध पौने दुई सय उजूरी परेका छन् । आर्थिक वर्ष २०७५/७६ को साउनदेखि असोजसम्म १६९ नयाँ उजूरी परेका हुन् । पुरानोसहित ४५६ उजूरी परेको आयोगको पोखरा कार्यालयले जनाएको छ । विस्तृत अनुसन्धानमा आठ, तामेलीमा १९, अन्य कार्यालय वा महाशाखामा प्रेषित सात, कारवाहीका लागि लेखिपठाएको १३ र अन्य उजूरीमा गाभिएका २२ छन् । उजूरीमध्ये ६९ को फछ्र्योट भएको तथा फछ्र्योट हुन बाँकी ३८७ रहेको पोखरा कार्यालयका सूचना अधिकारी रमेश ढकालले जानकारी दिए ।

आयोगको पोखरा कार्यालयले गण्डकी प्रदेशको नवलपुरबाहेक १० जिल्ला हेर्दै आएको छ । सबैभन्दा बढी कास्की जिल्लामा उजूरी परेको छ । कास्कीमा तीन महीनामा ८८ उजूरी परेका छन् भने मनाङमा परेको छैन । कास्कीपछि पर्वत र तनहुँ बढी उजूरी पर्ने जिल्लामा देखिएका छन् । पर्वतमा २२ र तनहुँमा १८ उजूरी परेका छन् ।

मन्त्रालयगत उजूरीको विवरण हेर्दा सबैभन्दा बढी सङ्घीय मामिला तथा सामान्य प्रशासनमा देखिएको छ । सो मन्त्रालयमा तीन महीनामा ६७ उजुरी परेका छन् । त्यसपछि शिक्षा विज्ञान प्रविधि देखिएको छ जसमा ३६ उजूरी परेका छन् । तीन महीनाभित्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा उजूरी परेको छैन । गत आर्थिक वर्ष यसै अवधिमा सबैभन्दा बढी शिक्षा मन्त्रालयअन्तर्गत ५० उजूरी परेकामा सो आर्थिक वर्षको तीन महीनामा भने सबैभन्दा बढी सङ्घीय मामिला र अन्तर्गत परेको छ । स्थानीय तहको निर्वाचनपछि विकास निर्माणका कामले तीव्रता पाउन थालेसँगै आर्थिक अनियमितता हुन जाने हुँदा उजूरी बढेको हुन सक्ने उपसचिव ढकालको भनाइ छ ।