समाचार

बजेट अभावले ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन हुन सकेन

रोल्पा । आफ्नै उमेरका दौतरी जमघट भई अतितका अनुभव आदानप्रदान गर्ने ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र बजेट अभावले बन्द भएपछि यहाँका ज्येष्ठ नागरिकको दैनिकी कष्टमय बन्दै गएको छ ।

रोल्पा नगरपालिका–४ मा स्थापना भएको उक्त सेवा केन्द्रमा बजार क्षेत्रका ज्येष्ठ नागरिक जमघट भई दुःखसुख आदानप्रदान गर्ने चौतारी बन्दै आएको थियो । चालु आर्थिक वर्षदेखि बजेट अभावले सेवा बन्द भएपछि ज्येष्ठ नागरिकलाई दैनिकी बिताउन समस्या परिरहेको छ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले महिला तथा बालबालिका कार्यालयमार्फत ज्येष्ठ नागरिक जिल्ला सङ्घलाई बजेट उपलब्ध गराएपछि सेवा केन्द्र सञ्चालन हुँदै आएको थियो ।

राज्यको पुनःसंरचनासँगै जिल्लामा रहेको महिला तथा बालबालिका कार्यालय हटेसँगै उक्त शीर्षकमा आउने बजेटसमेत कटौती हुँदा सेवा केन्द्र सञ्चालन हुननसकेको बताइएको छ । अघिल्लो वर्ष सरकारले उपलब्ध गराएको बजेटबाट व्यवस्थित ढङ्गले सेवा केन्द्र सञ्चालन गरिएको थियो, ज्येष्ठ नागरिक जिल्ला सङ्घ रोल्पाका अध्यक्ष तेजराज आचार्यले भने बजेट उपलब्ध नभएपछि मेरो घरमा निःशुल्क कोठा उपलब्ध गराएर सेवालाई निरन्तरता दिएको छु, अध्यक्ष आचार्यले भने ।

पायकपर्ने स्थानको अभाव तथा ज्येष्ठ नागरिकमैत्री संरचना अभावका कारण ज्येष्ठ नागरिक उक्त स्थानमा जमघट भएका छैनन्, आचार्यले भने । जेष्ठ नागरिकलाई पटक–पटक अनुरोध गर्दा पनि उपस्थित हुन मानेका छैनन् आचार्यले भने। स्थानीय सरकारले बजेट उपलब्ध गराए पुनः पायकपर्ने स्थानमा ज्येष्ठ नागरिकमैत्री संरचनामा सेवा केन्द्र सञ्चालन गर्न सकिने अध्यक्ष आचार्यले जानकारी दिए । सेवा केन्द्रमा बढी मात्रामा एकल ज्येष्ठ नागरिक उपस्थित हुँदै आएको अध्यक्ष आचार्यले बताए ।

सेवा केन्द्र सञ्चालनका लागि नगरपालिकामा बजेट नभएकाले सहयोग गर्न नसकिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले जानकारी दिए । स्रोतले भ्याएसम्म नगरका सवै वडामा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न सकिने गरी वडाध्यक्षहरूसँग कुराकानी भएको छ, नगरप्रमुख केसीले भने । लक्षित कार्यक्रमबाट ज्येष्ठ नागरिकका लागि विभिन्न शिविर तथा ज्येष्ठ नागरिक लक्षित दिवस समारोहमा नगरपालिकाले सञ्चालन गरिरहेको छ, प्रमुख केसीले भने ।

सेवा केन्द्र सञ्चालनमा रहँदा आफूहरु दैनिक रूपमा जमघट भई भजनकिर्तन गर्ने, नाचगान गर्ने, टेलिभिजन हेर्ने तथा सुखदुःख साटासाट गर्ने गथ्र्यौं ज्येष्ठ नागरिक चुडामणि आचार्यले भने । सेवा केन्द्र सञ्चालन हुन छाडेसँगै दौतरीसँग भेटघाट हुनसमेत छोडेको छ, ज्येष्ठ नागरिक आचार्यले भने । घरमा श्रीमती नभएको तथा परिवारका अन्य सदस्य पनि आफ्नो काममा व्यस्त रहँदा एक्लै बस्नुपर्ने बाध्यता छ आचार्यले भने ।

घरमा एक्लै बसेर नैराश्यता आउने भएकाले घर नजिकै रहेको दिवा सेवा केन्द्र गएर समय बिताउने गरेकामा सेवा केन्द्र बन्द भएपछि समय बिताउन निकै धौधौ भइरहेको छ, रोल्पा नगरपालिका–४ की ८५ वर्षीया मतिकला केसीले भने । आफ्नै दौतरीका दिदीबहिनीसँग धर्मकर्म बारेमा कुरा गर्दा निकै आनन्द लाग्थ्यो, केसीले भने । सामूहिक बसाइ तथा भजनकिर्तनले दिन बितेको थाहा हुँदैनथ्यो, अचेल दिन काट्न निकै मुश्किल परेको केसीले दुःखेसो गरे । ज्येष्ठ नागरिक कल्याणका लागि सञ्चालन भएका यस्ता सेवा केन्द्रलाई निरन्तरता दिँदै थप विस्तार गर्नुपर्नेमा बन्द गरिनु जायज नभएको स्थानीय विनोद श्रेष्ठले बताए । स्थानीय सरकारले चाहे बजेट उपलब्ध गराउन समस्या नहुने श्रेष्ठको भनाइ छ ।