बाग्मती

प्रहरी र महानगरपालिकाबीच सम्झौता

ललितपुर । महानगरीय प्रहरी कार्यालय र ललितपुर महानगरपालिकाबीच प्रहरी समुदाय सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महानगरपालिका कार्यालयमा सोमबार महानगरपालिकाका तर्फबाट प्रमुख चिरीबाबु महर्जन र कार्यालयका प्रमुख (प्रहरी नायब महानिरीक्षक) शैलेश थापा क्षेत्रीले महानगरपालिका क्षेत्रमा शान्ति र सुरक्षा कायम गर्ने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरे  ।

हस्ताक्षरपछि प्रमुख क्षेत्रीले आम नागरिकमा अपराध कसरी हुन्छ, विपद्मा कसरी सुरक्षित हुनेलगायत विषयमा दुई संस्था मिलेर नागरिकलाई सजग गराउन सक्ने बताए । उनले भने, “प्रहरीको अनुभव र जनप्रतिनिधिको ऊर्जालाई मिलाएर समाजमा आपराधिक घटना कम गर्न सकिन्छ ।”

महानगरपालिकाका प्रमुख महर्जनले प्रहरी र स्थानीय निकायबीच सहकार्य बढाउँदै जाँदा दिगो विकास लक्ष्यमा पुग्न सकिने बताए  ।

महानगरीय प्रहरी परिसर प्रमुख रवीन्द्र धानुकले नयाँ संविधानले सुरक्षा कायम गर्नका लागि धेरै जिम्मेवारी स्थानीय तहलाई दिएको बताए ।