उर्जा

जलविद्युत् क्षेत्रको जानकारी दिन मेला

काठमाडौँ । नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र लगानीको विभिन्न ढाँचाका बारेमा जानकारी गराउने लक्ष्यसाथ ‘हिमालयन हाइड्रो एक्पो २०१९’ आयोजना गरिने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सरकारले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनमा राखेको लक्ष्य पूरा गर्न निजी क्षेत्रले खेल्नुपर्ने भूमिकाका बारेमा समेत मेलामा छलफल हुनेछ ।

मेला आगामी माघ ४ गतेदेखि ६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने भएको छ । नेपालका जलविद्युत् तथा ऊर्जा क्षेत्रमा भएका क्रियाकलापसँगै थप ऊर्जा उत्पादन, विद्युत्भार कटौतीको अन्त्यपछि सरकारले अगाडि सारेको लक्ष्य पूरा गर्न मेला उपयोगी हुने आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागार्इंले जानकारी दिए । मेलामा जलविद्युत् क्षेत्रमा लगानीका विविध आयामका बारेमा जानकारी गराउने र विदेशी लगानीकर्तालाई लगानीका लागि सहजीकरण गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा नेपाल, चीन, भारत, दक्षिण कोरिया, नर्वे, बुल्गेरिया, अष्ट्रेलिया, अष्ट्रिया, श्रीलङ्का, बङ्गलादेशलगायत देशका प्रतिनिधि सहभागी हुनेछन् ।

मेलामा ऊर्जा क्षेत्रसँग सम्बन्धित १०० बढी कक्ष राखिनेछ । त्यसमा करीब आधा विदेशी कक्ष रहनेछ । यसपटक ‘ग्रीड कनेक्टेड सौर्य प्रणाली’ को विशेष प्रदर्शनी रहनेछ । जलविद्युत् आयोजनाको प्रवद्र्धन, निर्माण सामग्री, आयातकर्ता, लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीलगायत ऊर्जाका क्षेत्रमा उपलब्ध भएका नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विषय समावेश गरिने अध्यक्ष गुरागाईंको भनाई छ ।

मेलामा इञ्जिनीयरिङ सङ्कायका विद्यार्थीका बीचमा प्रतिस्पर्धा गराउने र नयाँ प्रविधिको खोजी गर्नेलाई पुरस्कार दिइनेछ । गत वर्ष त्यस्तै मेलामा ५० हजारको सहभागिता रहेकामा यस वर्ष एक लाख बढी हुने विश्वास लिइएको छ । पछिल्लो दिनमा जलविद्युत् आयोजनामा आक्रामकरुपमा लगानी गर्दै आएको निजी क्षेत्रले मेलालाई बहुउपयोगी बनाउने लक्ष्य राखेको छ । ऊर्जा उत्पादनमा आएका नयाँ खोज र प्रविधिका बारेमा जानकारी दिइ सरकारलाई नीतिगत निर्णय गर्नसमेत सहजीकरण गरिने आयोजकको भनाइ छ ।