समाचार

दुर्गममा खाद्यान्न पुगेको खाद्य संस्थानको दाबी

काठमाडौँ । दुर्गम क्षेत्रका जिल्लामा तिहारका लागि खाद्यान्नको ढुवानीको उचित व्यवस्थापन गरिसकेको नेपाल खाद्य संस्थानले जनाएको छ । संस्थानका प्रवक्ता शङ्कर सापकोटाका अनुसार दुर्गम जिल्लामध्ये हुम्ला जिल्लाबाहेक अन्य जिल्लामा आउँदो तिहारका लागि खाद्यान्नको कुनै समस्या छैन । हुम्लामा पनि दैनिक ३० देखि ४० क्विन्टल चामल ढुवानी गर्ने कार्य शुरु भइसकेको छ ।

मध्य र सुदूरपश्चिम जिल्लामा खाद्यान्नको समस्या हुने गरेकोमा जाजरकोट, बाजुरा तथा मुगु जिल्लामा पनि खाद्यान्नको समस्याको समाधान भइसकेको जानकारी दिँदै उनले सडक नपुगेको डोल्पामा निजी क्षेत्रको विमानमार्फत चामल ढुवानी भइरहेको बताए । संस्थानका अनुसार यस वर्ष देशका सबै भूभागमा राम्रो पानी परेको र किसानको परिश्रम पनि राम्रो भएकाले धानको उत्पादन बढ्ने अनुमान गरिएको हो ।

प्रवक्ता सापकोटाले भने, “यो वर्ष करीब ६० लाख क्विन्टल धान उत्पादन हुने अनुमान छ ।” तराई क्षेत्रका किसान धान बिक्री गरेर तिहार मनाउने परम्परा भएकाले उनीहरूले धमाधम बजारमा पु¥याउने काम शुरु गरेका छन् ।