गण्डकी प्रदेश

मुस्ताङका पर्यटक होटल खोज्दै बागलुङमा

बागलुङ । पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् ।

दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका हुन् ।

“मुस्ताङ र म्याग्दीमा यो सिजनमा धेरै पर्यटक जान्छन्” बागलुङका होटल व्यवसायी निलेश राजभण्डारीले भन्नुभयो, “त्यहाँ ठूलो क्षमताका होटल छैनन् त्यसैले होटल खोज्दै बागलुङ आउछन् ।” दशैँ तिहारबीचमा मुस्ताङ घुम्न आएका काठमाडौँका केशव लामिछाने म्याग्दी बास बसेर मुस्ताङ जाने योजनामा थिए उले नत्यहाँ होटल नपाउँदा बागलुङ फर्केर बास बस्नुपरेको बताउनुहुन्छ । यतिबेला बागलुङ जिल्लाका ठूला होटल मुस्ताङ र म्याग्दी घुम्न जाने पर्यटकले भरिएको होटल व्यवसायी सङ्घ बागलुङले जनाएको छ ।

“दशैँको भोलिपल्टदेखि म्याग्दी र मुस्ताङका सबैजसो होटल पर्यटकका लागि बुक भइरहेका छन्” होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले भने, “मुस्ताङ जानका लागि म्याग्दी आउने पर्यटकलाई छिमेकी जिल्ला पर्वत तथा बागलुङका होटलमा पठाउने गरिएको छ ।”

बागलुङमा ठूला क्षमताका होटल भए पनि मुस्ताङ र म्याग्दीमा ठूला क्षमताका होटल खासै छैनन् । मुस्ताङ जान आउने पर्यटक सिधै मुस्ताङ नगइकन म्याग्दीमा बास बस्नुले होटलको माग बढेको म्याग्दीका होटल व्यवसायी बताउँछन् ।

मुस्ताङबाट फर्कदा म्याग्दीको भुरुङ तातोपानी बस्ने योजना बनाएका फ्रान्सेली नागरीक डेविट होटल नपाउँदा बागलुङ बजारको पिस प्यालेसमा बास बस्न आएको बताउछन् । दशैँ तिहारको समयमा म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटक विगतका वर्षमा भन्दा यो वर्ष अत्यधिक भएको पर्यटन व्यवसायी बताउँछन् ।

प्रायजसो निजी गाडी तथा मोटरसाइकलमा आउने पर्यटक बागलुङ, म्याग्दी घुम्दै मुस्ताङ जाने गर्दछन् भने एजेन्सीमार्फत आएका पर्यटक सिधै मुस्ताङ जाने गरेका छन् ।