लुम्बिनी

पुल निर्माणका लागि चट्टान फोर्दै सेना

रोल्पा । दश वर्षदेखि अलपत्र माडिखोला पुल निर्माण अघि बढे पनि कडा चट्टानका कारण समस्या देखिएपछि अहिले नेपाली सेनाको सहयोगमा चट्टान फोर्न शुरु गरिएको छ । साँघुरो भौगोलिक संरचनाका कारण पुल निर्माणस्थल नजीकको डाँडा कटान गरी फराकिलो बनाउने क्रममा कडा चट्टान भेटिएपछि निर्माण तीव्र गति लिन सकेको थिएन । सेनाको खड्ग दल गणले सो निर्माणस्थलमा रहेको चट्टान हटाउने कार्य थालनी गरेको बताइएको छ । “विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फोर्ने कार्य थालनी गरेका छौँ”, निर्माण व्यवसायी राजवीर घर्तीले भने ।

चार पटक विस्फोटक पदार्थ प्रयोग भइसकेको र अझै ३० पटक प्रयोग गर्नुपर्ने बताइएको छ । हरेक चार दिनको अन्तरालमा विस्फोटक पदार्थ प्रयोग गरिँदै आएको छ । मन्त्री वर्षमान पुन र पूर्वमन्त्री हृदयेश त्रिपाठीले दश वर्षअघि शिलान्याश गरेको सो पुल निर्माण व्यवसायीको लापरवाहीले अवरुद्ध हुँदै आएको थियो ।

पुरानो सम्झौता रद्द गरी नयाँ बोलपत्र आह्वान भएसँगै गत भदौ १ गतेदेखि पुनः निर्माण थालनी गरिएको बताइएको छ । उक्त पुल डेढ वर्षभित्र सम्पन्न गरिसक्ने निर्माण व्यवसायी घर्तीले जानकारी दिए । पुल बनेमा पश्चिम रोल्पाका चार गाउँपालिकाका साथै रुकुम र दाङ जिल्लासमेत सदरमुकाम लिवाङको सडक सञ्जालमा जोडिने छन् ।