राजनीति

नेता मास्केलाई सोमबार श्रद्धाञ्जलि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले दिवङ्गत नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थीव शरीरलाई सोमबार विहान ८ बजेदेखि ११ बजेसम्म धूम्रबाराहीस्थित नेकपा कार्यालयमा राख्ने भएको छ ।

सो दिन पार्टी कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनलाई दलको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएपछि अन्य नेता तथा कार्यकर्ताले श्रद्धाञ्जलि दिने कार्यक्रम रहेको पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा शनिबार मास्केको ६७ वर्षका उमेरमा मस्तिष्कसम्बन्धी रोगबाट निधन भएको थियो । अमेरिकामा रहेका उनका दुई छोरा सोमबार काठमाडौँ आइपुगेपछि अन्त्येष्टि गरिने छ । मास्केको शव अहिले त्रिवि शिक्षण अस्पतालमा छ । विसं २०४४ मा भएको तत्कालीन काठमाडौँ नगरपञ्चायतको निर्वाचनमा उनी नेकपा (माले) का तर्फबाट प्रधानपञ्चका लागि उम्मेदवार भएका थिए । शिक्षण पेशामा रहेका मास्के नेपाल खेलकूद परिषद्का उपाध्यक्ष पनि थिए ।