अन्तर्राष्ट्रिय

लेस्टर सिटीका अध्यक्ष हेलिकप्टर दुर्घटनामा परेको आशंका

लेस्टर, बेलायत । बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ । थाइल्यान्डका अर्बपति व्यापारी समेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको अनुमान गरिएको हेलिकप्टर लेस्टरको रङ्गशाला बाहिर दुर्घटनाग्रस्त भएको थियो ।

लन्डनमा बस्ने गरेका अध्यक्ष विचाई लेस्टरको फुटबल हेर्न प्रायः हेलिकप्टरको प्रयोग गर्ने गर्थे । पारिवारिक स्रोतले विचाई हेलिकप्टरमा रहेको पुष्टी गरेको छ, तर लेस्टर सिटी क्लबले अध्यक्ष विचाईका बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

लेस्टर क्लबको किङ पावर रङ्गशालाको कार पार्क गर्ने स्थानमा ठूलो आवाजका साथ भुइँमा बज्रिएको हेलिकप्टर जलेको थियो । शनिबार लेस्टर सिटी र वेस्ट ह्यामबीचको खेल १–१ गोलमा सकिएको थियो । प्रत्यक्षदर्शी फोटो पत्रकार रायन ब्राउनले उड्न लागेको हेलिकप्टर एकाएक ठूलो आवाजका साथ भुँइमा खसेको र आगो लागेको बताए ।