पत्रपत्रिका

गल्ती गर्ने बाजे, कारबाही भोग्नुपर्ने नातिले !

भक्तपुर । तपाईँको घरमा विद्युत् कम खपत त भइरहेको छैन? टेलिभिजन, फ्रिज, पंखा, हिटरजस्ता बढी बिजुली खपत गर्ने सामान प्रयोग भइरहेक पनि मिटरमा कम खपत देखाए सचेत हुनुहोस्।

अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, नेपाल विद्युत् प्राधिकरण भक्तपुर वितरण केन्द्रको विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा धेरै घरमा थाहै नहुनेगरी विद्युत् चुहावट भइरहेको फेला परेको हो। बाजेका पालामा अपनाइएको चोरीको विधि घरपरिवारले थाहा नपाउँदा नाति पुस्ता कारबाहीमा पर्ने अवस्था आएको छ। ‘बाजेको पालामा मिटर राखेर बत्ती बलेका रहेछन्’, भक्तपुर वितरण केन्द्रका प्रमुख प्रज्ज्वलमान श्रेष्ठले भने, ‘बाजेकै पालामा चोरीको विधि अपनाइयो। घरपरिवारलाई थाहा भएन।

अहिले नातिको पालामा पत्तो लाग्यो। चुहावट गरिरहेको थाहा पाएपछि कारबाही नगरी भएन। उनले बाजेको पालादेखि अहिलेसम्म न्युनतम मात्रै विद्युत् खपत भइरहँदा पनि घरका मान्छेले वास्ता नगरेका कारण कारबाही भोग्नेको संख्या बढिरहेको बताए। घर पाँच छ तलाको भए पनि महसुल न्युनतम मात्रै देखाएकाले ती घर अनुसन्धानको घेरामा परेको उनले बताए।

शंका लागेर त्यस्ता घरमा जाँच गर्दा वर्षौँदेखि विद्युत् चोरी भइरहेको भेटिएको श्रेष्ठको भनाइ छ।