समाचार

चीनले पच्चीस करोड बढीको राहत र उपकरण नेपाललाई दियो

काठमाडौँ । चीनले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरुप नेपाल सरकारलाई रु २५ करोड भन्दाबढीको सहयोग उपलव्ध गराउने भएको छ ।

चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनियाँ समकक्षी वेइ फेङहेले सहायतासम्बन्धी सम्झौतामा आज बेइजिङमा हस्ताक्षर गरे ।

आगामी पाँच वर्षमा उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसअघि दुवै देशका रक्षामन्त्रीले आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।

प्रतिरक्षा विश्वविद्यालय स्थापनामा सघाउन अनुरोध

उपप्रधानमन्त्री पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सघाउन गर्नुभएको अनुरोधलाई उनका चिनियाँ समक्षीले सकारात्मक रुपमा लिदै दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीमा जोड दिएका थिए ।

उक्त दूतावासले जारी गरेको विज्ञप्तिअनुसार नेपालको उक्त अनुरोधप्रति सहमति जनाउँदै चीनले आपसी परामर्शमा सहयोगको विस्तृत विवरणलाई अन्तिम रुप दिइनेछ ।

उपप्रधानमन्त्री पोखरेलले सैन्य प्रशिक्षण, मानवीय सहायता, विपद् व्यवस्थापन, चिकित्सा उपकरण, शान्ति सैन्य सञ्चालनलगायत पारस्परिक चासोका विषयमा छलफल गर्दै सहयोगको अपेक्षा गरेका थिए । एकचीन नीति तथा तिब्बत मामिलामा नेपालबाट निरन्तर सहयोग प्राप्त भएकामा चिनियाँ रक्षामन्त्रीले नेपालको सराहना गरे ।

भेटवार्तामा दुवै देशका रक्षामन्त्रीले आपसी भ्रमण आदानप्रदानबाट नेपाल र चीनबीच उच्च राजनीतिक तहमा आशा, विश्वास र भरोसा अभिवृद्धि हुने बताएको उक्त दूतावासले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसैवर्ष गरेको चीनको औपचारिक भ्रमणबारे पनि दुई देशका रक्षामन्त्रीबीच छलफल भएको थियो ।