साहित्य

गौतमको स्मृति ग्रन्थ बजारमा

काठमाडौँ । विद्वच्छिरोमणि कुलचन्द्र गौतमको स्मृति ग्रन्थ सार्वजनिक भएको छ ।

कुलचन्द्र स्मृति संस्थाले प्रकाशनमा ल्याएको उक्त ग्रन्थमा कुलचन्द्रको व्यक्तित्व, कृतित्व र वंशावलीको वर्णन समेटिएको छ ।

तीन खण्डमा विभाजित ग्रन्थको पहिलोमा कुलचन्द्र गौतमको व्यक्तित्व र कृतित्वबारे विभिन्न क्षेत्रका विज्ञको लेख समावेश छ । दोस्रोमा गौतमका कृतित्वको उल्लेख गरिएको छ भने तेस्रो खण्डमा गौतमको वंशावलीको सारांशलाई समेटिएको छ ।

उक्त कृतिको आज यहाँ एक कार्यक्रमका बीच विमोचन गर्दै राष्ट्रिय मानवअधिकार आयोगका संस्थापक आयुक्त डा गौरीशङ्करलाल दासले विश्व भाषाको जननी संस्कृत भाषाको संरक्षण तथा प्रवद्र्धनका लागि यसको अध्ययनको दायरालाई अझ फराकिलो बनाइनुपर्नेमा जोड दिए ।

संस्कृत भाषाको ज्ञान नभएसम्म विशुद्ध नेपाली भाषा लेखनमा दक्खल नहुने भन्दै उनले संस्कृत शिक्षाको विद्यालयदेखि विश्वविद्यालयतहसम्म पठनपाठन हुनुपर्ने धारणा राखे ।

अर्का मानवअधिकारवादी सुबोधराज प्याकुरेलले बौद्धिक शास्त्रको अपब्याख्याले संस्कृत वाङ्मय ओझेलमा परेकाले यसको जगेर्नाका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याए ।

त्रिभुवन विश्वविद्यालय, संस्कृत विभागका अध्यक्ष प्रा डा नारायणप्रसाद गौतमले पश्चिमा विद्वान् तथा विश्वविद्यालयले समेत संस्कृत भाषाको अध्यापन र अनुसन्धान गरिरहेको सन्दर्भमा नेपाल सरकारले संस्कृत शिक्षाको प्रवद्र्धनमा विशेष ध्यान दिन जरुरी छ भने ।

प्रा दिनेशराज पन्तले गौतमका कृतिले संस्कृत वाङ्मयका विभिन्न विधामा महत्वपूर्ण योगदान गरेको चर्चा गरे । कुलचन्द्र स्मृति संस्थाका अध्यक्ष डा प्रसन्नचन्द्र गौतमले स्मृति ग्रन्थ ऐतिहासिक दस्तावेजका रुपमा आएको उल्लेख गर्दै संस्कृत विद्यालाई अनिवार्य बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

पूर्वीय वाङ्मयका ज्ञाता, दक्षिण एशियाको सभ्यता र संस्कृति प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेका गौतमलाई गोरखा दक्षिणबाहुको उपाधि तथा विलक्षण प्रतिभाशाली, साहित्यमणि, साहित्यभूषण, साहित्याचार्य, महाकविजस्ता उपमा दिइएको छ ।

उनका दुई दर्जनभन्दा बढी कृति प्रकाशित तथा केही प्रकाशोन्मुख अवस्थामा छन् । ग्रन्थलाई गौतमका नाती बेलायतमा प्राध्यापनरत डा प्रसन्नचन्द्र गौतमले सम्पादन गरेका हुन् ।