कृषि

उग्रचण्डीका युवाले स्वदेशमै फलाए सुन

बनेपा । बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

आफ्नै जमीनमा उत्पादन भएजतिका तरकारी सबै बिक्री हुने र दुःख गरेअनुसार आम्दानी पनि हुने भएकाले यहाँका युवा सो खेतीतर्फ आकर्षित भएका हुन् । बजार नजिक भएका कारण पनि यहाँका युवा मौसमअनुसार तरकारी खेतीगरी आम्दानी गर्दै आइरहेका छन् ।

बनेपा नगरपालिका–४ नालाका सहदेव दाहालले आफूहरूले काउली, गोलभँेडा, आलु, मुला र खुर्सानीलगायत तरकारी उत्पादन तथा विक्री गरी आम्दनी गरिरहेको बताउनुभयो । ‘‘म आफ्नै खेतबारीमा मौसम अनुसारको तरकारीखेती गरी आम्दानी गर्दै आइरहेको छु।’’ दाहालले भने, “दशैंलाई लक्षित काउली र मुला बिक्री गरेर रु तीन लाख जति आम्दानी गरेँ, काउली त अब सकिसक्यो, मुला भने केही बाँकी भएकाले विक्रीका लागि तरकारी सङ्कलन केन्द्रमा ल्याएको हुँ,” उनले भने ।फाइदा राम्रो हुने गरेको र यो याममा राम्रै मूल्य पाएको कृषक दाहालले बताउनुभयो । घरका सबै परिवार खेतीमा नै लागेकाले वर्षमा रू ९/१० लाखसम्मको कमाइ हुने उनको भनाइ थियो ।

विगत आठ वर्षदेखि तरकारीखेती गर्दै आउनुभएका अर्का युवा मनोज दाहालले पनि मौसमअनुसार समयमै उत्पादन गरी बिक्री गर्न सकेमा वर्षको रू चार÷पाँचलाखसम्म कमाइ हुने बताए ।

“मौसम अनुसार उत्पादन गर्न सक्यौँं भने कहाँ लगेर बेच्ने हो भन्ने चिन्ता हुँदैन ।” दाहालले भने, ‘‘उत्पादन भएको तरकारी सङ्कलन केन्द्रमा ल्याएपछि बिक्री भइहाल्छ । अझ कतिपय ठेकेदार त गाउँमै आएर पनि तरकारी सङ्कलन गरी लाने गरेका छन् ।” गाउँ÷टोलमा आउनेले भने अलि कम मूल्य दिने गरेका कारण आफूले उत्पादन गरेको तरकारी भने सङ्कलन केन्द्रमा नै लगेर बेच्ने गरेको उनको भनाइ थियो ।

कहिलेकाँही दुःख गरेर उत्पादन गरेको तरकारीको भनेजति मूल्य नपाउँदा भने दुःख लाग्ने गर्छ । ‘‘हामीले दुःख गरेर उत्पदान गरेका हुन्छौं, बजारमा मनोमानी भाउ हुन्छ, बाध्यताले उनीहरुको भाउमै बेच्नुपर्ने हुन्छ,’’ दाहालले भने । उनका अनुसार अहिले आफूहरुले किलोको २० रुपैयाँमा बेचेको मुला बजारमा उपभोक्ताले ४०÷४५ रुपैयाँ तिर्नुपर्ने बाध्यता छ ।

तरकारी सङ्कलन गरी खुद्रा पसलमा बिक्री गर्दै आएका व्यापारी पवनकुमार गुप्ताले तरकारी व्यवसायबाट राम्रै आम्दनी हुने गरेको बताए । “यहाँ हामी तरकारी सङ्कलन गर्छौं र बजारमा लगेर बेच्छौ, ’’ भारत घर भएको बताउने उनले भने, “यही पेशा गर्दै आएको ८÷१० वर्ष भयो ।’ ’ किसानले उत्पादन गरेको तरकारी मोल गरेर लगेर बेच्ने अनि आएर र पैसा तिर्ने गरेका कारण कम लगानीमा व्यवसाय गर्न पाएपछि व्यापारी यस्ता व्यवसायमा आकर्षित भएका हुन् ।त्यसरी सङ्लन गरिएका तरकारी काठमाडौँको विभिन्न ठाउँमा बिक्री हुँदै आएको छ ।