समाचार

म बूढोले त गाउँमै १८ लाख कमाउदै छु भने युवाले विदेश गएर रगत, पसिना किन बगाउने ?

कुश्मा । मोदी गाउँपालिका–२ देउपुरका ६७ वर्षीय टीकाराम तिमिल्सिनाले मौरीपालनबाट गतवर्ष रु १५ लाख र मौरीसहितको घार बिक्रीबाट रु तीन लाख गरी रु १८ लाख आम्दानी गरिरहेका छन् । विसं२०५७ देखि व्यावसायिक मौरीपालन थालेका उनको ६२ वटा घारमा मौरी छ । ‘जसले मह काढ्छ उसैले हात चाट्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै तिमिल्सिनाले उक्त व्यवसायबाट राम्रो आम्दानी गरेका हुन् ।

गाउँकै एक्ला मौरीपालक तिमिल्सिनाले शुरुमा १० वटा मुढेघारबाट मौरीपालन शुरु गरेका थिए । अहिले आफ्नै घर र बारीमा ६२ वटा मौरीका घार छन् भने अनुकुल याममा १०० भन्दा बढी हुने गरेका छन् । उनको घरबाटै प्रतिकिलो रु ९०० का दरले मह बिक्री हुँदै आएकोे छ । तिमिल्सिनाले एक याममा छ क्विन्टलभन्दा बढी मह काढ्ने गरेको जानकारी दिनुभयो । एपी सेरेना जातको मौरीको मह भिरमौरीकै जस्तै गुणस्तरीय हुने भएकाले राम्रो फाइदा हुने उनको जिकिर थियो । “अन्य जातका मौरीको मह गुणस्तरीय नहुने भएकाले मूल्य कम पर्छ तर एपी सेरेनाको मह धेरैले खोज्दै आउँछन् ।” उनले भने, “मह बेच्न बजार जानु पर्दैन । घरमै मह खोज्दै ग्राहक आइपुग्छन् ।” पर्वतमा व्यावसायिक मह उत्पादन गर्ने कृषक त्यति धेरै छैनन् ।

पहिले रहरले गरेको मौरीपालन अहिले आएर व्यावसायिक बनेको तिमिल्सिनाको अनुभव छ । “शुरुमा मुढेघारमा मौरी पाल्न थालँे”, उनले भने, “०६२ तिर विभिन्न संस्थाको सहयोगमा तालीम लिएपछि कृषि र केही गैर सरकारी संस्थाले आधुनिक घार दिए त्यसपछि व्यावसायिक रूपमा मौरी पाल्न थालेको हुँ ।”

तिमिल्सिनाले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन् । मह निकाल्ने समयमा उहाँको घरमा ग्राहकको लाइननै लाग्ने गरेको छ । महलाई स्वाद, पौष्टिकता र औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ । माग बढेपछि उनी झनै व्यवसायमा हौसिएका छन्। मौरीपालनमा बढी मेहनत र समय खर्च गर्नु नपर्ने भएकाले उहाँलाई मौरीपालन वरदान सावित भएको छ । “म बूढोले त गाउँमै नङ्ग्रा खियाएर पैसा कमाएको छु भने युवाले पनि मेरोजस्तै व्यवसाय गरे किन विदेश गएर रगत, पसिना बगाउने ?”, उनले प्रश्न गरे ।

उनको घर वरिपरि सुन्तला, तोरी र अन्य फलफूलका बोट पनि छन् । नजिकै सामुदायिक वन पनि छ । मौरीले तिनै फलफूलको रस खाने गर्छ । फलफूलको रस र वनजङ्गलको जुडीबुटी खाएका मौरीको मह स्वादिलो हुने गरेको उनले बताए । मौरीपालनसँगै झण्डै १०० सुन्तलका बोटबाट उहाँले वार्षिक लाखौँ आम्दानीसमेत गर्दै आएका छन् । व्यावसायिकरुपमा लाग्ने कृषकका लागि उदाहरणीय पात्र बनेका तिमिल्सिनाले गाउँमै काम गरे मनग्य आम्दानी गर्न सकिने सुझाव दिए ।