शिक्षा

ठाडाखानीमा बन्यो यस्तो सामुदायिक विद्यालय

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा रु ७५ लाखभन्दा बढीको लगानीमा सामुदायिक भवन निर्माण भएको छ ।

शीतलमालिका युवा क्लब र ठाडाखानी आमा समूहले सरकारी निकायको अनुदानको तुलनामा आठ गुणा बढी रकम जुटाएर दुई तले पक्की भवन निर्माण गरेका हुन् ।

कूल रु ७५ लाख ८३ हजारको लागतमा उक्त सामुदायिक भवन निर्माण भएको क्लबका अध्यक्ष दलमान छन्त्यालले जानकारी दिए । उनका अनुसार वडाको प्रस्तावमा गाउँपालिकाको रु आठ लाख र तत्कालीन पाखापानी गाविसको रु एक लाख अनुदानबाहेक सबै आर्थिक स्रोत स्थानीयवासीले जुटाएका हुन् ।

“हालसम्म रु ६३ लाख ६४ हजार सहयोग प्राप्त भएको छ”, अध्यक्ष छन्त्यालले भने, “अझै रु १२ लाख ऋण छ ।” भवन निर्माणमा आफ्ना स्वर्गीय रनप्रसाद पुराने छन्त्यालको सम्झनामा बुटबलमा बस्ने केरसिंह छन्त्यालले रु पाँच लाख सहयोग गरेका थिए । स्थानीयवासीले रु दुई हजारदेखि पाँच लाखसम्म सहयोग गरेका छन् ।

भेला, बैठक, तालीम, गोष्ठी सञ्चालन, क्लब र आमा समूहको कार्यालयका साथै विवाह, मृत्यु, छेवारलगायत कार्यमा सामुदायिक भवनलाई प्रयोगमा ल्याइने वडा सदस्य टेकजित छन्त्यालले बताए ।

प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाधुरीको फेदीमा अवस्थित ठाडाखानीमा रहेको उक्त भवनलाई छन्त्याल सङग्रहालय र पाहुना घरको रूपमा समेत प्रयोग गर्ने स्थानीयवासीको योजना रहेकोे प्रिया छन्त्यालले बताए ।