पत्रपत्रिका

घरायसी झगडामा कुटपिटबाट मृत्यु भएको आरोपमा एक जना पक्राउ

बनेपा । घरायसी झगडाका बेला कुटपिट गरेका कारण मृत्यु भएको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–९ का ४८ वर्षीय डल्ले सार्की रहेको छ ।

सार्कीले स्थानीयवासी ३७ वर्षीय पूर्णबहादुर विसङ्खेलाई यही कात्तिक ४ गते घरायसी झगडामा कुटपिट गरेको र सोही कारणबाट उनको मृत्यु भएको किटानी जाहेरी दिएपछि सार्कीलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

पूर्ण विसङ्खे बिहीबार दिउँसो ३ बजेतिर काठमाडौँ जाने क्रममा भक्तपुरको सल्लाघारीमा बेहोस अवस्थामा प्रहरीले फेला पारी भक्तपुर अस्पतालमा लगिएको र त्यसपछि थप उपचारका लागि वीर अस्पताल पठाएको थियो । सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको र तत्काल शल्यक्रिया गर्नुपर्ने जनाएपछि उपचार नगरी आफन्तले घरमा ल्याएकोमा उनको हिजो बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

“घटनाको अवस्थाबारे बुझ्दै जाँदा कुटपिटबाट मृत्यु भएको भनी राज विसङ्खेले किटानी जाहेरी दिएपछि आवश्यक अनुसन्धानका लागि सार्कीलाई नियन्त्रणमा लिएका हौँ”, प्रहरी नायब उपरीक्षक गिरीले बताए ।