प्रदेश 2

प्रदेश सरकारको निर्णय : केन्द्र सरकारले कर्मचारी नपठाए आफैं व्यवस्था गर्ने, जनकपुर चुरोट कारखानामा मधेस भवन

जनकपुरधाम । प्रदेश नम्बर २ को सरकारले जनकपुर चुरोट कारखाना रहेको भवनको नाम परिवर्तन गरेर मधेस भवन राख्ने निर्णय गरेको छ । शुक्रवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले यसअघि चुरोट कारखाना रहेको भवनको नाम परिवर्तन गरेर मधेस भवन राख्ने निर्णय गरेको हो ।

लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको भवन प्रदेश मन्त्रिपरिषदले प्रयोग गर्दै आएको थियो । प्रदेश नम्बर २ को कृषि मन्त्रालय बाहेक अन्य सबै मन्त्रालय जनकपुर चुरोट काराखाना परिसर भित्र सञ्चालित छन् ।

प्रदेश नम्बर २ को मन्त्रिपरिषद बैठकले रामजानकी विवाह पञ्चमीलाई भव्यताका साथ सम्पन्न गर्न ५० लाख रुपैयाँ खर्च गर्ने निर्णय समेत गरेको छ ।

उक्त ५० लाख रुपैयाँ रामजानकी विवाह पञ्चमी आयोजक समारोहमार्फत खर्च गरिने जनाइएको छ ।

यस्तै शुक्रवार बसेको प्रदेश मन्त्रि परिषदको बैठकले प्रदेशलाई आवश्यक सबै कर्मचारी १ महिना भित्रै पठाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारले स्वीकृत गरेको ओएनएम अनुसार आवश्यक कर्मचारी १ महिना भित्र पठाउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको हो ।

एक महिना भित्र संघीय सरकारले आवश्यक कर्मचारी नपठाए प्रदेश सरकारले आफै व्यवस्था गर्ने निर्णय समेत मन्त्रिपरिषद बैठकले गरेको छ ।