अन्तर्राष्ट्रिय

श्रीलंकामा नाटकीय नयाँ राजनीतिक मोड, राष्ट्रपतिमा हारेका राजापक्ष बने प्रधानमन्त्री

श्रीलंका । श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजापक्षले प्रधानमन्त्रीको सपथग्रहण गरेका छन्। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले रनिल विक्रमासिङ्गेलाई हटाएर राजापक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।

पर्यवेपक्षकहरुले यसलाई नाटकीय घटनाको रुपमा व्याख्या गरेका छन्।

विक्रमासिंगेले अहिले पनि आफै प्रधानमन्त्री भएको दाबी गरेका छन्। उनले राष्ट्रपतिको कदम गैर संवैधानिक भएको बताएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

श्रीलंकाका अर्थमन्त्री मंगला समरावीराले ट्विट गर्दै राजापक्षको नियुक्ति असंवैधानिक भएको बताएका छन्। उनले लेखेका छन्, ‘यो गैर प्रजातान्त्रिक कु हो।’

भारतीय जनता पार्टीका नेता तथा राज्यसभाका सांसद सुब्रमण्ड्यम स्वामीले दिल्लीको समर्थनमै कोलम्बोमा यो राजनीतिक कदम चालिएको जस्तो संकेत गरेका छन्।

श्रीलंकाको यो नाटकीय राजनीतिक परिवर्तन लगत्तै ट्विट गर्दै स्वामीले भनेका छन्, ‘मेरा मित्र महिन्दा राजापाक्षले भर्खरै श्रीलंकाको प्रधानमन्त्रीको सपथग्रहण गरेका छन्। अब म माल्दिभ्स र अफगानिस्तानको विषयमा काम गर्छु।’

श्रीलंकाको संसदमा सिरिसेना र राजापाक्षको पार्टीका ९५ सांसद छन् भने विक्रमासिंगेसँग १ सय ६ जना छन्। संसदमा सरकारको पक्षमा बहुमत सावित गर्न १ सय १३ को समर्थन आवश्यक पर्छ।

सिरिसेनाले यसअघि भएको राष्ट्रपति चुनावमा राजापाक्षलाई नै पराजित गरेका थिए। राजापक्ष राष्ट्रपति हुँदा सिरिसेना उनकै मन्त्रिपरिषदका सदस्य रहेका थिए।

नेपालमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सम्मेलनमा सहभागी हुन २०७१ मंसिरमा नेपाल आएको समयमा राजापक्षविरुद्ध विपक्षी दलका नेता विक्रमासिंगे र सिरिसेनाबीच गठनबन्धन बनेको थियो। नेपाल भ्रमण छोट्याएर राजापक्ष स्वदेश फर्किएका थिए।

चीनतर्फ झुकाव राखेकाले राजापाक्षविरुद्ध सिरिसेना र विक्रमासिंगेलाई एक ठाउँमा ल्याउन दिल्लीले भूमिका खेलेको त्यसबेला विश्लेषण गरिएको थियो।

पछिल्लो समय विभिन्न विषयमा मतभेद हुँदा सो गठनबन्धनमा दरार देखिएको थियो। अघिल्लो साता मात्रै राष्ट्रपति सिरिसेनाले भारतीय गुप्तचर एजेन्सी रिर्सच एन्ड एनालाइसिस विङ्ग ‘रअ’ ले आफ्नो हत्या गर्ने षडयन्त्र गरेको आरोप समेत लगाएका थिए।

राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री विक्रमासिंगेबीच पछिल्लो विवाद भारतलाई बन्दरगाह भाडामा दिने सरकारी योजनामा देखिएको थियो। शुक्रबार मात्रै सिरिसेनाको दलले युनाइटेड पिपुल्स फ्रिडम एलायन्सबाट बाहिरिने घोषणा गरेको थियो।

दिल्लीका राणनीतिक मामिला विश्लेषक ब्रम्ह चेलानीले ‘श्रीलंकाको राजनीतिक कुबाट चिनियाँ फेबरेटहरु शक्तिमा पुगेको’ दाबी गरेका छन्।