पर्यटन/संस्कृति

मेघौली विमानस्थल अझै सञ्चालनमा आउन सकेन

चितवन । पश्चिम चितवनको मेघौली विमानस्थल सञ्चालनमा आउन सकेको छैन । विसं २०१७ मा स्थापना गरिएको सो विमानस्थल त्यस क्षेत्रको प्रतिष्ठित होटल टाईगर टप्स बन्द भएसँगै नियमित सञ्चालन हुन नसकेको हो ।

सदरमुकाम भरतपुरबाट २४ किलोमिटर पश्चिमको सो विमानस्थल २३ बिगाहा जमीनमा फैलिएको छ । भरतपुर विमानस्थलका प्रमुख पवनकुमार गौतमका अनुसार एक हजार ६५ मिटर लामो घाँसे धावन मार्ग रहेको छ । विमानस्थललाई तारबार गरी सुरक्षित गरिएको छ । सो क्षेत्रका सामाजिक अगुवा मायाराम चौधरीका अनुसार होटल टाईगर टप्स सञ्चालन हुँदा नेपालका राजारानी, बेलायती रानी एलिजाबेथलगायत स्वदेशी र विदेशी विशिष्ट व्यक्ति जहाज चढेर सो क्षेत्रमा आएका थिए । थारु सांस्कृतिक सङ्ग्रहालय मेघौलीका अध्यक्ष रहनुभएका चौधरीले दैनिक तीन/चार जहाज सो विमानस्थलमा अवतरण हुने गरेको थियो ।

सोही विमानस्थलमा होटल टाईगर टप्स रहुञ्जेल अन्तर्राष्ट्रिय हात्ती पोलो खेल समेत हुने गरेको थियो । हाल खेल पनि बन्द भएको छ । विसं २०६९ बाट बन्द भएको विमानस्थल गत वर्ष नोभेम्बर र डिसेम्बरमा केही समय सञ्चालनमा आए पनि पुनः बन्द भएको हो ।

जहाज सञ्चालन भएमा तत्काल टावर सञ्चालनमा ल्याउन सकिने विमानस्थलका प्रमुख गौतमले बताए । भरतपुरमा दैनिक १२/१३ उडान हुँदै आएको भन्दै उनले मेघौली विमानस्थल सञ्चालन गर्न सकेमा भरतपुरको चाप घटाउन सकिने र त्यस क्षेत्रका जनताले सुविधा पाउने बताए । नेपाल एयरलायन्सले हाल तालिकामा राखेर पनि मेघौलीमा विमान चलाएको छैन । विमान सञ्चालन हुन नसक्नुको कारणबारे केन्द्रमा पत्राचार गर्ने उनले बताए ।