कृषि

आधुनिक अलैँची भट्टी नहुँदा किसानलाई समस्या

तेह्रथुम । पूर्वी नेपालका अलैँची किसानले आधुनिक अलैँची भट्टी नहुँदा समस्या बेहोर्दै आएका छन् । परम्परागत भट्टीको प्रयोग गर्नु पर्दा किसानलाई अलैँची टिप्नुभन्दा सुकाउन झन्झटिलो हुने गरेको छ । पूर्वका तेह्रथुमसहित पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा, सङ्खुवासभालगायत जिल्लाका किसानले अलैँची सुकाउन आधुनिक भट्टीको प्रयोग गरेका छैनन् ।

अलैँची टिप्न सहज भए पनि अलैँची सुकाउन आधुनिक प्रविधिको ज्ञान नहुँदा असजिलो हुने गरेको अलैँची ब्लक कार्यक्रम फेदाप–आठराई गाउँपालिकाका अध्यक्ष सिर्जना लामा फोम्बोले बताए । गाउँमा किसानले ढुङ्गा, माटोले बनेको परम्परागत भट्टीमा अलैँची सुकाउने गरेका छन् । त्यस्ता परम्परागत भट्टीमा अलैँची सुकाउँदा अलैँची पनि राम्रो सुक्दैन र किसानको स्वास्थ्यमा समेत असर पुग्ने गरेको छ ।

किसानलाई अलैँची आधुनिक भट्टीमा सुकाउनपर्छ भन्ने प्राविधिक ज्ञान नरहेको अध्यक्ष फोम्बोले बताए । प्राविधिक ज्ञान नभएकै कारण तेह्रथुममा आधुनिक भट्टीको प्रयोग शून्यजस्तै रहेको छ । केही वर्षअघि तेह्रथुम उद्योग वाणिज्य सङ्घले १०० वटा आधुनिक भट्टी अनुदानमा वितरण गरेको थियो ।

अहिले किसानले ती भट्टी प्रयोगमा निरन्तरता दिन सकेका छैनन् । किसानले लगेका आधुनिक भट्टी प्रयोगमा नरहेको अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिव तुलसी ढकालले बताए । परम्परागत भट्टीका कारण अलैँची कालो हुने, राम्रो नसुक्ने, डढेर नष्ट हुने, आगलागीको जोखिम हुने, धुँवा र आगोले मानव स्वास्थ्यमा असर गर्नेजस्ता समस्या किसानले बेहोर्दै आएका छन् ।

परम्परागत भट्टीमा सुकाएको अलैँचीले बजारमा समेत कम मूल्य पाउने गरेको छ । अलैँची गुणस्तरवृद्धि गर्न पहल शुरु भए पनि किसानलाई गुणस्तरीय अलैँची उत्पादनका लागि ज्ञान अभिवृद्धिको खाँचो रहेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार गत वर्ष जिल्लामा २२० मेट्रिकटन अर्थात रु ४६ करोड २० लाख बढीको अलैँची उत्पादन भएको थियो ।

अकबरे खुर्सानी निर्यात

यहाँको कोसेलीको रूपमा परिचित अकबरे खुर्सानी दशैँ तिहारलगायत चाडपर्व तथा विभिन्न काम विशेषमा जिल्ला आउनेजानेले कोसेलीको रूपमा लैजाने चलन बढेको छ । छथर गाउँपालिका–६ सुदापकी कृषक शिवमाया खड्काले रासायनिक विषादी र मल प्रयोग नगरी किसानले उत्पादन गरेको अग्र्यानिक अकबरे खोर्सानी छथरकै सबैभन्दा लोकप्रिय कोसेली बनेको बताए । गाउँपालिकाका अध्यक्ष सन्तवीर तिगेलाले अकबरेसहित अन्य उत्पादनको बजारीकरणका लागि छथरको शुक्रबारेमा कोसेलीघर नै स्थापना गरिएको जनाउँदै किसानलाई व्यावसायिक र अग्र्यानिक खेती गर्न विभिन्न गैरसरकारी संस्था र सरकारी निकायले तालीम र बिउ पूँजीमा सहयोग गरेका जानकारी दिए ।

जिल्लामा उत्पादित अकबरे खोर्सानी पूर्वका धरान, विराटनगर, मोरङ, झापालगायत राजधानी र विदेशमा समेत निर्यात हुने गरेको छ । तर विशेषगरी कोसेलीको रूपमा विदेशतिर धेरै जाने गरेको छ । जिल्लामा वार्षिक रु १२ करोड बढीको अकबरे खुर्सानी उत्पादन हुने गरेको छ ।