अन्तर्राष्ट्रिय

जापानी पत्रकार तीन वर्षपछि रिहा

टोकियो । जापानी स्वतन्त्र पत्रकार जुम्पाई यासुदा सिरियामा अपहरण भएको तीन वर्ष भन्दा लामो समयपछि मुक्त भएका छन् । जापानको सरकारी टेलिभिजन एनएचकेले रिहा गरिएका पत्रकार यासुदा बिहीबार टर्कीको राजधानी इस्तानबुलबाट जापानतर्फ उडेको जनाएको छ ।

यासुदा तीन वर्षअघि सिरियामा बेपत्ता भएका थिए । उनलाई लामो समयसम्म कहाँ राखिएको थियो भन्ने बारेमा पत्ता लागेको थिएन । जापान सरकारले उनी सुरक्षित रहेको बुधबार जानकारी दिएको थियो । उनी बिहीबार अबेर राति जापान फर्किने एनएचकेले जनाएको छ ।

जापान फर्किन पाएकोमा आफूलाई निकै खुशी लागेको उनले बताए । ४४ वर्षीय यासुदाले तत्काल आफूले के गर्ने भन्ने प्रष्ट नभएको बताए । मुक्त गरिएपछि एक कारबाट सिरियाको सीमा क्षेत्रमा लगिएको र त्यहाँ टर्कीका अधिकारीहरुलाई जिम्मा लगाइएको यासुदाले एनएचकेलाई बताए ।

बुधबार जापान सरकारले सिरियाली आतङ्ककारीहरुले मुक्त गरेका व्यक्ति यासुदा नै भएको पुष्टि गरेको थियो । जापानी विदेशमन्त्री तारो कोनोले बुधबार भएको एक पत्रकार सम्मेलनमा यासुदा सुरक्षित रहेका र उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताए ।