प्रदेश 1

ओखलढुङ्गामा करदाताको सङ्ख्या ह्वात्तै बढे

ओखलढुङ्गा । यहाँ करदाताको सङ्ख्या बढेको छ । विगतमा निकै कम करदाता भएको जिल्लाका रुपमा चिनिएको ओखलढुङ्गामा पछिल्लो तीन महीनामा करदाताको सङ्ख्या ह्वात्तै बढेको हो ।

बितेको आर्थिक वर्ष र चालू आर्थिक वर्षको तीन महीनाको अवधिमा ८०० करदाता बढेको आन्तरिक राजश्व कर कार्यालय लहानका कर अधिकृत पशुपति घिमिरेले बताए । “कर कार्यालय लहान र ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घ दुवैबाट हामीले कर तिर्ने र व्यवसायीहरुलाई नयाँ प्यान नं जारी गर्ने व्यवस्था मिलाएका छौँ,” घिमिरेले भने, “त्यसैले गर्दा ओखलढुङ्गामा करदाताको सङ्ख्या बढेको हो ।”

उनका अनुसार आव २०७३/७४ मा एक हजार ४०० सङ्ख्यामा रहेका करदाता गत आवमा भने उल्लेख्य थपिएका थिए । चालू आवकोे असोज मसान्तसम्म जिल्लाबाट राजश्व बुझाउने करदाता सङ्ख्या दुई हजार ३०० पुगेको आन्तरिक राजश्व कार्यालय लहानले जनाएको छ ।

आन्तरिक राजश्व कर कार्यालय लहानसँगको सहकार्यमा ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले २०७१ सालबाट जिल्लाबाटै अस्थायी प्यान नम्बर जारी गरिरहेको छ । सङ्घको तथ्याङ्कअनुसार हालसम्म जिल्लाबाट अस्थायी प्यान नम्बर लिने व्यवसायीको सङ्ख्या ९०० नाघेको छ । ओखलढुङ्गा उद्योग वाणिज्य सङ्घले जिल्लाबाटै कर तिर्ने व्यवस्था गरेपछि एक हजार ५०० देखि दुई हजार ५०० कर तिर्नका लागि रु १० हजारसम्म खर्चेर लहान पुगेर कर तिर्ने अवस्थाको अन्त्य भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केको भनाइ छ ।

सङ्घले चालू आर्थिक वर्षबाट गाउँगाउँमा रहेका व्यवसायीलाई करको दायरामा ल्याउने अभियानसमेत थालेको छ । यो अभियानअन्तर्गत जिल्लाका स्थानीय तहसँग समन्वय गरी करदाता शिविर सञ्चालन गर्न थालिएको छ । गत असोजमा मात्रै जिल्लाका लिखु र खिजिदेम्बा गाउँपालिकाबाट ३०० करदाता थपिएको सङ्घका कार्यालय सचिव नवराज दाहालले जानकारी दिए । सङ्घले तिहारपछि थप गाउँपालिकामा करदाता शिविर सञ्चालन गर्ने तयारी गरिरहेको छ ।