पर्यटन/संस्कृति

मकवानपुरबाट २० प्रतिशत फूल तिहारलाई

हेटौँडा । प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु गरेका छन् । ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन् । ती फूल अहिले काठमाडौँ, ललितपुर कास्की, रुपन्देही, चितवन र मकवानपुरका बजारमा बिक्रीवितरण भइरहेकोे छ । मकवानपुरको उत्तरी भेगमा व्यावसायिक हाल तीन हजार ७३४ हेक्टर जग्गामा कृषकले पुष्पखेती गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

एक याममा प्रत्येक कृषकले पुष्पखेतीबाट आफ्नो खर्च कटाएर करीब रु डेढ लाखदेखि दुई लाख ५० हजारसम्म आम्दानी गरेको इन्द्रसरोवर गाउँपालिका वडा नं ६ का अगुवा कृषक भीमप्रसाद देवकोटाले जानकारी दिए । प्रत्येक पुष्पगुच्छाको रु ५० देखि रु १०० सम्म र माला रु ७५ देखि रु २०० सम्ममा काठमाडौँबाट तराई जाने यात्रु र तराईबाट काठमाडौँ जाने यात्रुलाई पायक पर्ने होटल र तरकारी पसलमा बिक्रीवितरण भइरहेको थाहा नगरपालिका–७ का अगुवा कृषक कृष्णदेव आचार्यले बताए ।

जिल्लाको उत्तरी भेगमा व्यावसायिक पुष्पखेतीलाई कृषकमा प्रभावकारी तुल्याउन र उनीहरुको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ चालू आवदेखि आवश्यक प्राविधिक, स्रोत साधन उपलब्ध गराइने तयारी भइरहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताए । तिहारमा काठमाडौँका उपभोक्तालाई मकवानपुरमा उत्पादित उन्नत पुष्पखेतीबाट करीब २० प्रतिशत आपूर्ति हुने जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिए ।