खेलकुद

साफ यू–१५: पाकिस्तानको विजयी शुरुआत

काठमाडौँ । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको अन्तरमा पराजित गरेको हो ।

खेलको ३१औँ मिनेटमा पाकिस्तानले अदनान जस्टिनको गोलबाट अग्रता लिएको थियो । खेलको ५३औँ मिनेटमा भारतका थालाचुईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर खेल सकिन ५ मिनेट बाँकी छँदा पाकिस्तानका वासिफले गोल गर्दै पाकिस्तानलाई जित दिलाए । मैदान छिरेको दोस्रो मिनेटमै उनले गोल गरेका थिए ।

खेलमा पाकिस्तानले शुरुआतदेखिनै भारतमाथि दबाब सिर्जना गरेको थियो । जितसँगै समूह ‘बी’मा पाकिस्तानले महत्वपूर्ण तीन अङ्क जोडेको छ । प्रतियोगिताअन्तर्गत आजै नेपाल र माल्दिभ्सबीच सोही मैदानमा ३ बजे खेल हुनेछ ।