प्रदेश 1

चालक अनुमतिपत्र सहज गर्न अनलाइन सेवा प्रयोग

इटहरी । यातायात व्यवस्था विभाग कोशी अञ्चलअन्तर्गतको चालक अनुमतिपत्र कार्यालय इटहरीले सेवाग्राहीलाई चालक अनुमतिपत्र प्रदान गर्न अनलाइन सेवा प्रयोगमा ल्याएको छ ।

दुई, तीन र चार चक्के सवारीसाधनको चालक अनुमतिपत्र सेवाग्राहीले सर्वसुलभ रुपमा पाउन भनेर फर्म भर्ने कार्यसमेत अनलाइनमार्फत गरिएको र यसबाट सेवाग्राहीले सहजरुपमा अनुमतिपत्र पाउने कार्यालय प्रमुख कृष्णप्रसाद भुसालले बताए ।

अनलाइन सेवामार्फत चालक अनुमतिपत्रका लागि आवेदन गर्ने सेवाग्राहीले लिखित र प्रयोगात्मक परीक्षा दिने मिति थाहा पाउन सक्छन् । अनलाइन सेवामार्फत सेवाग्राहीले चाँडो र सहजरुपमा सेवा पाउने अवस्था तयार भएको पनि उनले जानकारी दिए । यसअघि सेवाग्राहीले कहिले फर्म भर्ने भन्ने जानकारी नै नपाउने अवस्था थियो ।

यो प्रविधि प्रयोगमा आएपछि सबैतिरका सेवाग्राहीले भरपर्दो सेवाका रुपमा अनलाइन सेवालाई लिएको सोही कार्यालयका अर्का कर्मचारी डिल्ली नेपालले बताए । फेसबुकमार्फत परीक्षा एवं प्रयोगात्मक परीक्षासमेत सेवाग्राहीले जानकारी पाउने व्यवस्था मिलाइएको छ ।

गाँजा फडानी

सुनसरीको विभिन्न स्थानमा लगाइएका अवैध गाँजाका बोट प्रहरीले नष्ट गर्ने अभियान तीव्र तुल्याएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले स्थानीय इलाका प्रहरी कार्यालय समेतको सहयोगमा जिल्लाको गढी गाउँपालिका क्षेत्रको झोरा टोल र सत्तेरझोरा टोलका गाउँमा लगाइएको अवैध गाँजाका बोट फँडानी गरी नष्ट पारेको हो । इलाका प्रहरी कार्यालय दुहवीको सहयोगमा ती क्षेत्रमा लगाइएको अवैध गाँजाको बोट नष्ट गर्ने कार्यमा प्रहरी र स्थानीय जनप्रतिनिधिसमेतको सहयोग लिइएको बताइएको छ ।

कोशी गाउँपालिकाअन्तर्गतको विभिन्न गाउँमा लगाइएको तथा आफैँ उम्रिएका अवैध गाँजा पनि प्रहरीले फँडानी गरेर नष्ट गरेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । जिल्लाको अन्य स्थानमा भएका अवैध गाँजाका बोट प्रहरी र जनप्रतिनिधिको सहकार्यमा नष्ट गर्ने अभियानलाई तीव्र पारिने बताइएको छ ।