राजनीति

नेता बास्तोलाको शोकसभा: बास्तोलाका अधुरा सपना कांग्रेसले पूरा गर्छ: सभापती देउवा, उपसभापती निधीले आशु थाम्न सकेनन् !

काठमाडौँ । नेपाली कांग्रेसका दिवंगत नेता चक्र प्रसाद बास्तोलाको १३ औँ दिनको पूण्य तिथीमा पार्टीले देशैभर शोकसभा गरेको छ । पार्टीको केन्द्रीय कार्यालयका आयोजित शोकसभालाई पार्टी सभापती शेर बहादुर देउवा, उपसभापती निधी, महामन्त्री शंशाक कोईराला लगायतले बिहिबार सम्बोधन गरेका हुन् ।

शोकसभामा बोल्दैँ सभापती शेर बहादुर देउवाले स्व. नेता बास्तोलाको निधनले पार्टी र समग्रमा देशलाई अपुरणीय क्षती पुगेको बताए । लोकतन्त्रको स्थापनार्थ बास्तोलाले पुर्याएको योगदानको सभापती देउवाले उच्च प्रशंसा गरे । बास्तोलाले सुरु गरेका तर अधुरा रहेका देश र जनताका काम अब कांग्रेसले गर्ने प्रतिबद्धतासमेत देउवाले व्यक्त गरेका छन् ।

त्यस्तै शोकसभामा उपसभापती विमलेन्द्र निधी सम्बोधनका क्रममा रोएका छन् । सम्बोधन गर्दागर्दै उपसभापती निधीले नेता बास्तोलालाई सम्झेर आसु थाम्न नसकेका हुन् । उनले बास्तोलाको योगदानको कदर र उच्च मूल्याङ्कन पार्टीले गर्ने बताए ।

पूर्वमन्त्री समेत रहेका कांग्रेस नेता बास्तोलाको असोज २७ गते उपचारका क्रममा निधन भएको थियो ।