आर्थिक

तीन महीनामा रु एक खर्ब राजश्व

काठमाडौँ । चालू आर्थिक वर्षको तीन महीनामा अघिल्लो वर्षको तुलनामा ४२ प्रतिशत बढी राजश्व आम्दानी भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा कूल रु एक खर्ब एक अर्ब २४ करोड राजश्व आम्दानी भएको छ । यस अवधिमा विभागले रु ९२ अर्ब ४२ करोड राजश्व आम्दानी गर्ने लक्ष्य राखेको विभागका निर्देशक विनोदशरण आचार्यले राससलाई जानकारी दिए ।

मुलुकका विभिन्न भन्सार कार्यालयबाट वस्तुको आयात निर्यात हुने गरेको छ । मुलुकमा हाल ३६ भन्सार कार्यालय र १३८ छोटी भन्सार कार्यालय छन् । त्यसमध्ये नौ भन्सार कार्यालय चीनसँग र बाँकी भारतीय सीमासँग जोडिएका छन् ।

त्यसमध्ये सबैभन्दा बढी आयात वीरगञ्जबाट ३४ प्रतिशत, भैरहवाबाट १७ प्रतिशत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट १४ प्रतिशत, विराटनगरबाट १२ प्रतिशत, सुख्खा बन्दरगाहबाट १० प्रतिशत आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

पौने चार खर्बको वस्तु आयात

मुलुकमा पछिल्लो समयमा दैनिक उपभोग्य वस्तु तथा विलासिताका सामानको आयात बढ्दै गएको छ । विभागका अनुसार चालू आवको तीन महीनामा विभिन्न मुलुकबाट नेपालमा कूल रु तीन खर्ब ७४ अर्बको वस्तु आयात भएको छ । अघिल्लो आवको यही अवधिको तुलनामा ४३ दशमलव पाँच प्रतिशत बढी हो । गत वर्ष यस अवधिमा रु दुई खर्ब ६० अर्ब २० करोडको वस्तु आयात भएको विभागको तथ्याङ्क छ ।

आयात भएका वस्तुमध्ये सबैभन्दा बढी रु ५७ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ । त्यसपछि सबैभन्दा बढी रु ४० अर्बको फलाम र स्टिलको कच्र्चा पदार्थ, रु २९ अर्बको सवारीसाधन, रु २८ अर्बको मेशिनरी सामान, रु २२ अर्बको इलेक्ट्रिकल सामान, रु १७ अर्बको विमान र विमानका सामान आयात भएको विभागको तथ्याङ्क छ ।

सबैभन्दा बढी आयात भारतबाट

यस अवधिको कूल आयातित वस्तुमध्ये सबैभन्दा बढी भारतबाट रु दुई खर्ब ३६ अर्बको सामान भारतबाट आयात भएको छ । जुन कूल आयातको ६३ प्रतिशत हो । त्यसपछि सबैभन्दा बढी चीनबाट रु ५३ अर्ब, फ्रान्सबाट रु १४ अर्ब, युनाइटेड अरब इमिरेट्स (युएई) बाट आठ अर्ब, थाइल्याण्डबाट रु चार अर्बका विभिन्न वस्तु आयात भएको देखिन्छ ।

चालू आवको तीन महीनामा निर्याततर्फ भने नेपालबाट विभिन्न मुलुकमा कूल रु २३ अर्ब ७४ करोडको विभिन्न वस्तु निर्यात भएको निर्देशक आचार्यले जानकारी दिए ।

तीन महीनामा नेपालबाट रु दुई अर्ब २४ करोडको कच्चा धागो, रु दुई अर्ब ३४ करोडको गलैँचा, रु एक अर्ब ९० करोडको गार्मेन्ट निर्यात भएको छ । निर्यात सबैभन्दा बढी भारत र त्यसपछि संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य र जर्मनीमा भएको देखिन्छ ।

यस अवधिमा मुलुकको व्यापार घाटा रु तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । जसमध्ये सबैभन्दा बढी भारतसँग मात्र रु दुई खर्ब २३ अर्ब छ । मुलुकको बढ्दो घाटा विभिन्न मुलुकबाट भित्रने विप्रेषणले धानेको छ । हाल मुलुकमा विदेशमा काम गर्ने नेपालीबाट प्रतिमहीना झण्डै रु ८५ अर्ब विप्रेषण भित्रने गरेको छ ।