समाचार

विद्युतीय माध्यमसम्बन्धी उजुरी धेरै

काठमाडौँ । पछिल्लो तीन महिनामा प्रेस काउन्सिल नेपालमा ५३ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । यस आर्थिक वर्ष २०७५/७६ को गत साउनदेखि असोज मसान्त सम्ममा विद्युतीय माध्यममा ३७ वटा र छापा माध्यममा १४ वटा गरी ५१ वटा उजुरी परेका हुन् । विद्युतीय माध्यममा परेका ३७ वटा उजुरीमध्ये ११ वटा फछ्यौट भएको र २६ वटा कारबाही प्रक्रियामा रहेको काउन्सिलका निमित्त मुख्य अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिए ।

छापामाध्यममा परेका १४ वटा उजुरीमध्ये चार वटा फछर्यौट भएको र १० वटा कारबाही प्रक्रियामा छन् । यी ५१ उजुरीमध्ये अधिकांश उजुरी झुटा समाचार प्रकाशन प्रसारण गरेको, चरित्र हत्या गरेको, मानहानी भएको लगायतका विषयमा छन् । आर्थिक वर्ष २०७४/७५ मा १६५ वटा, आव २०७३/७४ मा ११२, २०७२/७३ मा १०१, आव २०७१/७२ मा ५१, आव २०७०/७१ मा ३९ र २०६९/७० मा ४६ वटा उजुरी परेका थिए । विगतको तुलनामा पत्रकार आचारसंहिता उल्लङ्घनका घटनालाई लिएर उजुरी पर्ने क्रम बढ्दै गएको काउन्सिलले जनाएको छ । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा प्रकाशित प्रसारित समाचारबारे काउन्सिल आफैँले समेत अनुगमन गर्दै आएको छ ।

पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमध्ये सबैभन्दा बढी अनलाइन पत्रिकाले आचारसंहिता उल्लङ्घन गर्ने गरेको सूचना अधिकारी खनालको भनाइ छ । विसं २०७४ माघ ७ गतेदेखि अनलाइन माध्यमबाट पनि उजुरी गर्न पाउने व्यवस्था गरेपछि उजुरीको सङ्ख्या बढ्दै गएको काउन्सिलले जनाएको छ । आचारसंहिता उल्लङ्घन गर्नेलाई काउन्सिलले अन्तिम कारबाहीस्वरुप सूचना विभागबाट वितरण गरिने प्रेस पास निलम्बन गर्ने, काउन्सिलको मूल्याङ्कन वर्गीकरणबाट अलग गर्ने, खेद प्रकट गर्ने र कारबाहीका लागि विवरणसहित सार्वजनिक रुपमा प्रकाशन प्रसारण गर्न सक्नेछ ।

प्रेस काउन्सिल पत्रपत्रिका र पत्रकारसँग सम्बन्धित भएको हुनाले सूचना विभागले दिँदै आएको ‘पत्रकार प्रेस पास’ काउन्सिलले नै वितरण गर्नुपर्ने काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको भनाइ छ । “२६ वर्ष पुरानो काउन्सिलको ऐनलाई संशोधन गरेर हामी नयाँ ऐन ल्याउने तयारीमा छौँ, जसले सबै सञ्चारमाध्यम र पत्रकारलाई समेट्नेछ”– कार्यवाहक अध्यक्ष श्रेष्ठले भने । स्वस्थ र मर्यादित पत्रकारिताको विकासका लागि नियमनकारी भूमिका निर्वाह गर्न २०२८ सालमा काउन्सिलको स्थापना भएको हो । नेपाल पत्रकार महासङ्घको सहमतिमा प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता, २०७३ जारी गरेको छ ।

आचारसंहिताको पत्रकार र सञ्चारमाध्यमको कर्तव्यमा प्रेस स्वतन्त्रताको संरक्षण र संवद्र्धन गर्नुपर्ने, सत्य–तथ्य, सन्तुलित र वस्तुनिष्ठ सूचना सम्प्रेषण गर्नुपर्ने र समाचार, विचार र विज्ञापन छुट्टिने गरी सम्प्रेषण गर्नुपर्नेलगायत १५ बुँदा उल्लेख गरिएको छ । काउन्सिलले पछिल्लो तीन महिनामा पत्रकार कल्याण कोषबाट सात जना पत्रकारलाई रु ८० हजार रकम औषधोपचार सहायताका लागि प्रदान गरेको छ । त्यसैगरी मिडिया विकास कोषबाट चार सञ्चार माध्यमलाई रु एक लाख ५७ हजार ९४३ सहयोग प्रदान गरेको छ ।

पत्रकार आचारसंहिता उजुरी र कारबाहीसम्बन्धी कार्यविधि, २०७५ निर्माण कार्य अन्तिम चरणमा पुगेको काउन्सिलले जनाएको छ । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिलले जारी गरेको पत्रकार आचारसंहितासँगै सञ्चार माध्यम आफैँ पनि आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।