पर्यटन/संस्कृति

बाह्र सय वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार

म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा रहेको एक हजार २५० वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार गरिएको छ । रु दुई करोड ८५ लाखको लगानीमा गुम्बा जीर्णोद्धार गरिएको मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष हीराबहादुर ठकुरी (वाङवेल लामा) ले जानकारी दिए । जीर्णोद्धारका लागि पुरातत्व विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति, मुक्तिनाथ क्षेत्र विकास समिति, स्थानीय संरक्षण समिति, जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयलगायतले अनुदान उपलब्ध गराएका थिए ।

गुम्बाभित्र भक्तजनले विभिन्न देवीदेवताका मूर्तिहरू राखेका छन् । गुम्बाको जीर्णोद्धारमा स्वदेशी कार्यालय र व्यक्तिको मात्र लगानी रहेको अध्यक्ष ठकुरीले बताए । नियमित मर्मत गरिए पनि ढुङ्गा र माटोले बनेको गुम्बामा पानी चुहिने र पर्खाल भत्किने अवस्थामा पुगेको थियो । बौद्ध धर्मका गुरु रिम्पोछेले एक हजार २५० वर्ष पहिले हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा गुम्बा निर्माण गरेका थिए । गुम्बाको संरचनालाई बलियो बनाउन माटो कुटेर एक मिटर चौडाइको पर्खाल बनाइएको छ ।