राजनीति

प्रधानमन्त्री परिवर्तन हुँदैन्ः नेता पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले सरकारको काम गराईको शैलीमाथि मूल्याङ्कन गर्ने काम भइरहेको बताए । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले सरकारले गरेका कामको प्रभावकारिताका विषयमा गम्भीर समीक्षा भइरहेको जानकारी दिए । पौडेलले भने, “मान्छे हेरफेर गर्दैमा प्रभावकारिता आउँदैन तर मन्त्रिपरिषद्मा हेरफेर गर्न छलफल हुन सक्छ ।”

प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार अच्युतप्रसाद मैनालीले वर्तमान सरकार सुशासन कायम गर्न प्रतिबद्ध रहेको उल्लेख गरे । उनले बाग्लुङ्गमा हावाबाट बिजुली निकाल्ने परियोजना शुरु गरिएको, तिहारपछि सानो आकारको पानी जहाजको सम्भाव्यता अघि बढेको र नेपालको उत्तरी नाकामा राजश्वको उठ्ती २०० प्रतिशतले बढेकोलगायत काम भएको बताए।

नेपाली काङ्ग्रेसका नेता एनपी साउदले स्थिरता र समृद्धिको नारा दिने सरकारले देशलाई समृद्ध बनाउने पक्षमा असफल भएको आरोप लगाए । नेकपा (माले) का महासचिव सिपी मैनालीले दुई तिहाइ जनसमर्थनबाट बनेको सरकारले गरेको काम सन्तोषजनक हुन नसकेको जिकिर गरे ।