समाचार

पत्रकार खासोग्जीको हत्याको विरोध

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधान सम्पादक जमाल खासोग्जीको हत्याका विरोधमा आज काठमाडौँस्थित साउदी अरेबियाको राजदूतावासमा विरोधपत्र बुझाएको छ ।

महासङ्घले खासोग्जीको हत्याको छानविन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारवाहीको मागसहित नेपालस्थित साउदी राजदूतावासमार्फत साउदी सरकारलाई विरोधपत्र बुझाएको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए । पत्रकार खासोग्जीको हत्याको भत्र्सना गर्दै महासङ्घले हत्याको विरोधमा विश्वभर उठेको विरोधका पक्षमा समेत महासङ्घ ऐक्यबद्धता प्रकट गरेको छ ।

गत असोज १६ गते टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको थियो । उक्त हत्या साउदी सरकारले करीब दुई हप्तापछि मात्रै स्वीकार गरेको हो ।