सुदूरपश्चिम

नयाँ उद्योगमा रु एक अर्ब बढी लगानीको प्रस्ताव

धनगढी । कैलाली जिल्लामा गएको आर्थिक वर्ष २०७४/७५मा दर्ता भएका ९०३ नयाँ उद्योगमा झण्डै रु एक अर्ब ३८ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएकामध्ये साना उद्योगमा झण्डै रु एक अर्ब पाँच करोड र लघु उद्योगमा रु ३३ करोड लगानीको प्रस्ताव गरिएको छ । दर्ता भएका साना उद्योगको स्थिर पूँजी रु ६८ करोड र चालु पूँजी रु ३७ करोड रहेकामा लघु उद्योगको स्थिर पूँजी रु २१ करोड र चालु पूँजी रु १२ करोड रहेको छ ।

घरेलु तथा साना उद्योग कार्यालय कैलालीका अनुसार गत आवमा सेवामूलक ३२९, उत्पादनमूलक १९२ कृषिसम्बन्धी २९६, पर्यटनसम्बन्धी नौ र लघु ७७ वटा नयाँ उद्योग दर्ता भएका छन् । वार्षिक उत्पादन क्षमता करीब रु सात अर्ब रहेको यी नयाँ उद्योगबाट चार हजार ६२ पुरुष र १८४ महिलाले रोजगारी पाउन लागेको तथ्याङ्कमा जनाइएको छ ।

अघिल्लो आव २०७३/७४ मा दर्ता भएका ८९० वटा उद्योगमा रु एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको थियो । यस्तै कार्यालयले गएको आव २०७४/७५ मा ४३० उद्योगको नवीकरण गरेको छ । सम्बन्धित उद्योगीबाट काम नगर्ने जानकारी आएपछि ५८ वटा उद्योगको लगत कट्टा गरिएको छ ।

कार्यालयमा वर्षेनी उद्योग दर्ता हुने गरेको भएपनि दर्तापछि उद्योगको वस्तुस्थिति, ती उद्योगले दिएको रोजगारी, मापदण्डअनुसार सञ्चालन भए नभएको, उद्योग सञ्चालन हुँदा समाजलाई परेको प्रभाव लगायतका विषयमा अनुगमन निरीक्षण गर्ने पाटो भने कमजोर रहेको छ ।

उद्योगको अनुगमन निरीक्षण नहुँदा तोकिएको मापदण्ड विपरीत कतिपय ठाउँमा सञ्चालन भइरहेका उद्योगबाट समाजमा वातावरणीय प्रभाव परेको गुनासो सर्वसाधारणवाट सुनिन थालेको छ । कार्यालयका प्रमुख दिलीप चन्द कार्यालयसँग प्रर्याप्त जनशक्ति र साधन स्रोतको अभावको कारण सबै उद्योगको निरीक्षण गर्नसक्ने अवस्था नरहेको बताउँछन् ।

दर्ता भएकामध्ये झण्डै ४५ प्रतिशत उद्योग मात्र सञ्चालनमा रहेको कार्यालयको अनुमान छ । कार्यालयले सम्बन्धितले उद्योग दर्ता गराउन आउँदा भरिने फारम र नवीकरण गर्दा भरिने फाराममा उल्लेखित विवरणलाई तथ्याङ्को आधार मान्ने गरेको छ । बैंकबाट ऋण लिने र विभिन्न निकायबाट अनुदान लिने प्रयोजनका लागि पनि उद्योग दर्ता गर्ने प्रवृत्ति बढ्न लागेको देखिएको कार्यालय प्रमुख चन्दले बताए ।

घरेलु तथा साना उद्योग कार्यालय कैलालीमा हालसम्म जम्मा दर्ता भएका साना उद्योग छ हजार ११० र लघु उद्योग २५३ पुगेका छन् । यी उद्योगले झण्डै ४५ हजार व्यक्तिलाई रोजगारी दिएको अनुमान गरिए पनि यसको यकिन तथ्याङ्क भने कसैसँग छैन । उत्पादन क्षमता झण्डै रु ३३ अर्ब रहेको यी सबै उद्योगको जम्मा लगानी प्रस्ताव रु सात अर्ब २१ करोड रहेको कार्यालयको तथ्याङ्कमा छ ।