समाचार

अबको केही बर्षमा घरघरमा ईलेक्ट्रिक चुल्होः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केही बर्षमा चुलोचुलोमा बिजुलीको तार हुने बताएका छन् । काठमाडौँ उपत्यकामा चल्ने दुईटा बिजुली बसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले पुल्चोकस्थित साझा यातायातको परिसरबाट सिंहदरबारसम्म बस चढेर शुभारम्भ गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नै मुलुकमा उत्पादन भएको जलविद्युत्ले वातावरण र जनस्वास्थ्यलाई सकारात्मक असर गर्ने बताए । विद्युतीय बसले ऊर्जाको किफायत गर्नेमा उनको जोड छ । उनले भने, “हाम्रो देशमा आफ्नो पेट्रलियम पदार्थ नहुँदा विद्युतीय बस सञ्चालनमा जोड दिन खाँचो छ ।”

उपत्यकामा मात्र हजारौँ गाडी र आठ लाख बढी मोटरसाइकल गुडिरहेको उनले बताए । आगामी दिनमा विद्युतीय सवारीको प्रबद्र्धन गर्दै जाने उनको भनाइ थियो । नेपाल विद्युत् प्राधिकरणले २० ठाउँमा चार्जिङ स्टेशन स्थापना गर्ने उनले बताए । उनले भने, “अरु निकायसँग सहकार्य बढाएर विद्युतीय सवारीलाई प्रवद्र्धन गर्नुपर्छ ।”

सरकार सार्वजनिक यातायातको स्तर र गुणवृद्धि गर्नमा प्रतिवद्ध भएको उनले बताए । विद्युतीय बसको प्रयोगबाट सार्वजनिक यातायातलाई सुरक्षित र गुणस्तरीय बनाउँदै जानेमा उनको जोड छ । उनले भने, “विद्युतीय बस विस्तार गर्दै जानका लागि निजी क्षेत्रको यसमा सहभागिता खाँचो छ ।’ उत्पादन गर्नेहरूले पनि विद्युतीय बसको मूल्य घटाउन खोज र अनुसन्धान गर्नुपर्ने आवश्यकता औँल्याए ।

विद्युतीय बसको शुरुवात अहिलेका लागि सानो प्रयास मात्रै भएको प्रधानमन्त्री ओलीले बताए । लुम्बिनीमा चलाउने बस केही समयका लागि काठमाडौँ उपत्यकामा चलाउन लागिएको हो । विज्ञान र प्रविधि मानव जीवनलाई सहज बनाउन प्रयोग हुनुपर्नेमा उनको जोड छ ।

पहिले ग्यास घरघरमा भनेकामा अब विद्युतीय चुल्हो घरघरमा लैजाने सरकारको योजना उनले सुनाए । पहिलो पटक प्रधानमन्त्री हुदाँ चुलाचुलामा ग्यासको पाईपलाईन पुर्याउने भनेर बोलेको स्मरण गर्दै प्रधानमन्त्रीले भने, “त्यतिबेला घरघरमा ग्यास पाइपभन्दा धेरै चर्चित भयो त्यो शुरु भइसकेको पनि छ, अब हाम्रो योजना विद्युतीय चुल्हो हो ।” ग्यासको सिलिण्डर पु¥याउन नसकिने बस्तीलाई एकीकृत र व्यवस्थित बस्ती बनाउनेमा उनको जोड छ ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीले आगामी छ महीनाभित्रमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने बताए ।

एसियाली विकास बैंकको आर्थिक सहयोगमा बस ल्याइएको हो । बसको बजार मूल्य रु दुई करोड रहेको साझा यातायातले जनाएको छ । २० जना क्षमताको बस अपाङ्गतामैत्रीसमेत रहेको छ । बसको व्यवस्थापन साझा यातायातले गर्ने भएको छ ।

प्रधानमन्त्री ओलीले सन् २०२० सम्म कम्तीमा पनि २० प्रतिशत विद्युतीय सवारीसाधन चलाईने बताएका छन् । साझाँ यातायातले मंगलबारदेखि दुईटा बिजुली बस सञ्चालनमा ल्याएको र बाँकी ३ वटा बस केही दिनमै ल्याउने भएको छ । प्रधानमन्त्री ओली आजदेखि सञ्चालनमा आएको बिजुली बसमा चढेर सिंहदरबार झरेका थिए ।